काठमाडौं । २०७७ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन ५ लाख १७ हजार १२२ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रूद्रप्रसाद अधिकारीका अनुसार २०७७ सालको एसईई परीक्षामा सहभागी हुन रजिस्ट्रेसन फारम भरेकामध्ये ४ लाख ९२ हजार २७८ जना विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए । यसरी हेर्दा २४ हजार ८४४ जना विद्यार्थी हराए । रजिस्ट्रेसन फारम कक्षा नौमा भर्नुपर्छ ।
परीक्षा आवेदन फारम भरेका मध्ये ४ लाख ८४ हजार २८७ जना विद्यार्थीको एसईई नतिजा प्रकाशित भयो । आवेदन फारम भरेका ८ हजार विद्यार्थी हराए ।यस री कक्षा नौमा रजिस्ट्रेसन फारम भरेर एसईई परीक्षासम्ममा ३२ हजार ८४४ जना विद्यार्थी हराए अर्थात उनीहरूले पढाइ छाडे । रजिस्ट्रेसन फारम भरेको विद्यार्थी संख्या अनुसार दुई वर्षमा ६ दशमलव ३५ प्रतिशत विद्यार्थीले पढाइ छाडे ।
एसईई राष्ट्रिय परीक्षा बोर्डको परीक्षा परीक्षा नियन्त्रण कार्यालयले लिने गरेकोमा यो क्रम टुटेको दुई वर्ष भयो । कोरोना भाइरस संक्रमणको महामारीका कारण विद्यालयले लिएका परीक्षा र तोकिएका अन्य मापदण्डका आधारमा विद्यालयले गरेको मूल्यांकन प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो ।
२०७७ सालको एसइई परीक्षा दिन काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयबाट रजिस्ट्रेसन फारम भरेका १ हजार ६०७ जना विद्यार्थीले पढाइ छाडेका छन् । तीन जिल्लाबाट एसईई परीक्षा दिन ५४ हजार ७९६ जनाले रजिस्ट्रेसन फारम भरेकोमा ५३ हजार १८५ जनाको मात्र नतिजा प्रकाशन भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौँका प्राविधिक अधिकृत फणीन्द्रप्रसाद घिमिरेका अनुसार काठमाडौँ जिल्लाबाट ३८ हजार ४३२ जना विद्यार्थी रजिस्ट्रेसन फारम भरेकोमा ७९१ जनाले परीक्षा आवेदन फारम भरेनन् । आवेदन फारम भरेकामध्ये ४७७ जना एसईई मूल्यांकनमा परेनन् ।
यसरी काठमाडौँ जिल्लाबाट मात्रै एसईईमा सहभागी हुनुपर्ने १ हजार २६८ जना विद्यार्थीले पढाइ छाडे । घिमिरेका अनुसार कोरोना महामारीका करण अभिभावकहरू गाउँ फर्केको र उनीहरूसँगै विद्यार्थीहरूले पनि काठमाडौँ छोडेका कारण एसईईमा सहभागी नभएको अनुमान गरिएको छ ।
ललितपुर जिल्लामा २४१ जना विद्यार्थी अनुपस्थित भए । शिक्षा विकास तथा समन्वय इकाई, ललितपुरका प्रमुख गणेश ढकालका अनुसार एसईईका लागि ललितपुर जिल्लाबाट १० हजार ३१६ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए । परीक्षा आवेदन फारम १० हजार १०२ जनाको आयो । अन्तिम नतिजा १० हजार ७५ जनाको आयो । बीचमै विद्यालय छोड्ने, परीक्षा दिन नचाहने लगायतका कारणले विद्यार्थी घटेको उनको भनाइ छ । कोही विद्यार्थीहरूले पारिवारिक र आर्थिक समस्याका कारणले पनि पढाइ छाड्ने गरेका छन् ।