एजेन्सी – गएको केहि महिना देखि टोटनह्याम हटस्परका स्टार स्ट्राइकर ह्यारी केन म्यानचेस्टर सिटी जाने चर्चा चलिरहेको छ। सिटीले केनलाई अनुबन्ध गर्न टोटनह्यामसँग लगातार छलफल गरिरहेको छ। सिटीले केनका लागि १ सय मिलियन युरो भन्दा बढी अफर गर्दा पनि टोटनह्याम केनलाई बिक्री गर्न चाहिरहेको छैन।
पछिल्लो पटक केन क्लबको प्रशिक्षणमा सहभागी नभएको खबर समेत आएका थिए। खबर अनुसार केन टोटनह्यामको प्रि-सिजन प्रशिक्षणमा सहभागी हुन मानेका थिएनन्। त्यसबेला केन सिटी जान खोजिरहेको अनुमान गरिएको थियो। तर, सिटीले एस्टन भिल्लाबाट ज्याल ग्रिलिस भित्र्याएपछि केन सिटी जाने सम्भावना कम भएको धेरैले बुझेका थिए।
प्रतिष्ठित पत्रिका ‘गार्डीयन’ले दावी गरे अनुसार सिटीले केनलाई भित्र्याउने योजना रद्द गरिसकेको छैन। सिटीले केनलाई आफ्नो प्राथमिकतामा राखिरहेकै छ। सिटी केनका लागि १ सय २७ मिलियन युरो सम्म खर्च गर्न तयार रहेको गार्डीयनले जनाएको छ। तर, टोटनह्याम भने केनका लागि १ सय ५० मिलियन युरो चाहन्छ।
सिटी र टोटनह्याम भिड्दै
सिटी र टोटनह्याम सिजनको पहिलो खेलमा एक अर्काको सामना गर्दैछन्। खेल आइतबार राति हुनेछ। नेपाली समय अनुसार ९ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ। उक्त खेलमा केन टोटनह्यामबाटै खेल्ने उच्च सम्भावना रहेको छ। तत्कालै सम्झौता टुंगोमा पुग्ने सम्भावना नरहेका कारण उक्त खेलमा केनले खेल्ने धेरैले अनुमान गरिरहेका छन्।