बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमनले अब क्लबले मेस्सी च्याप्टर बन्द गरेर नयाँ यात्राको सुरुवात गर्नुपर्ने बताएका छन्। १७ वर्षपछि बार्सिलोनाले मेस्सी बिना सिजनको सुरुवात गर्दैछ।
लालिगा तथा क्लबको आर्थिक कठिनाइका कारण क्लबले मेस्सीलाई लिगमा दर्ता गर्न नसक्ने भनेपछि ३४ वर्षीय स्ट्राइकर बार्सा छाड्न बाध्य भएका थिए। जसपछि मंगलबार मात्र मेस्सी पीएसजी क्लबसँग अनुबन्धित भइसकेका छन्। कुनै पनि क्लबमा मेस्सीको स्थान लिन असम्भव नै हुन्छ तर मेस्सीको छायाँबाट क्लबलाई निकाल्नको लागि पनि रोनाल्ड कोमनका लागि निकै कठिन हुनेछ।
इएसपीएनसँग कुरा गर्दै बार्सिलोना प्रशिक्षकले भने,”हामी सबैले बुझ्नुपर्छ कि जसको सुकै खेलाडीको पनि अन्त्य हुन्छ। अब हामी यसबारे बिर्सिनुपर्छ र नयाँ सिजनमा ध्यान केन्द्रित गर्नु पर्छ। हामीसँग नयाँ खेलाडी छन् र हामीलाई अब अगाडी बढ्नको लागि समय पनि छ।”
बार्सिलोनाको साथमा थुप्रै युवा खेलाडी रहेको हुनाले अब क्लबले विगतका दिनहरुमा के भयो भन्दा पनि भविष्यको बारेमा सोचेर अगाडी बढ्नु पर्ने उनले बताए। मेस्सीले बार्सिलोना छाड्ने खबरले आफू पनि चकित भएको बताउँदै उनले क्लब र मेस्सी बीच निकै कठिन अवस्था रहेको र आर्थिक स्थितिले झन कठिन बनाएको बताए।
“मलाई लाग्छ उक्त पल निकै कठिन थियो किनकि हामी एक सामान्य खेलाडीको कुरा गर्दै छैनौं। हामी दुनियाकै सर्वोत्कृष्ट खेलाडी, मेस्सीको कुरा गर्दै छौं। त्यसैले, नयाँ सिजनमा उनी हामीसँग नहुँदा म पनि निराश छु,” कोमनले भने। गत सिजन मेस्सीले लिगमा मात्र ३० गोल गरेको भन्दै उक्त सङ्ख्यामा गोल गर्ने खेलाडी गुमाउँदा क्लबलाई ठूलो घाटा लागेको पनि कोमनले स्पष्ट पारे।