नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् ।
उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।
प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए। अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

