एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सन् २०२०/२१ को यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका खेलाडीले अवार्डको मनोनयनमा दबदबा बनाएका छन् ।
यूईएफएले शीर्ष १० सँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गर्दा क्रिस्टियानो रोनाल्डोले भने स्थान बनाउन सकेनन् । पछिल्लो डेढ दशक च्याम्पियन्स लिग अवार्डमा निरन्तर आफ्नो दबदबा कायम गर्दै आएका रोनाल्डो शीर्ष १० खेलाडीमा पनि अटाउन सकेनन् । गत सिजन युभेन्टस च्याम्पियन्स लिगमा पोर्टोसँग राउन्ड अफ १६ मा पराजित हुँदै बाहिरिएको थियो ।
यूईएफएले मनोनयन गरेको उत्कृष्ट फरवार्डको सुचिमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, बोरुसिया डर्टमुन्डका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी) का किलियन एमबाप्पे शीर्ष तीनमा छन् ।
त्यसपछि शीर्ष १० मा क्रमश लिओनेल मेस्सी (७६ अंक), करीम बेन्जेमा (७० अंक), नेयमार (२३ अंक), काइहाभर्ट्ज (१६ अंक), रहीम स्टर्लिङ (१६ अंक), मेसन माउन्ट (६ अंक) र रोमेलु लुकाकु (६ अंक) रहेका छन् । शीर्ष तीन खेलाडीको अंक भने अवार्ड घोषणा हुने दिन सार्वजनिक हुनेछ ।
यस्तै उत्कृष्ट मिडफिल्डरतर्फ शीर्ष तीनमा उपाधि विजेता चेल्सीकै दुई खेलाडी छन् । बुधबार मात्र यूईएफए सुपर कप जितेका कान्टे र जर्जिन्होसँगै च्याम्पियन्स लिग फाइनलमा घाइते हुन पुगेका केभिन डे ब्रुएन पनि मनोनयनमा छन् ।
सिटीकै इल्काए गुन्डोगन (१५ अंक), मेसन माउन्ट (१५ अंक), फ्रेंकी डे जोङ (९ अंक), लुका मोड्रीच (९ अंक), पेड्री (६ अंक), जिओर्जिनिओ वाइनाल्डम (५ अंक) र काइ हाभर्ट्ज (५ अंक) शीर्ष १० मा अटाएका छन् ।
डिफेन्डरतर्फ मनोनयनमा पनि फाइनल खेलेका तीन खेलाडी नै रहेका छन् । चेल्सीका कप्तान सेजार एज्पिलीक्वेटा र एन्टोनियो रुडीगरसँगै सिटीका रुबेन डियास मनोनयनमा परेका छन् ।
त्यसपछि पेरिस सेन्ट जर्मेनका मार्किन्हस (७८ अंक), थियागो सिल्भा (५९ अंक), काइल वाल्कर (३५ अंक), जिओर्जियो किएलिनी (१८ अंक), जोन स्टोन्स (१५ अंक), डेविड आलाबा (१४ अंक) र लिओनार्दो बोनुची (१४ अंक) शीर्ष १० स्थानमा छन् ।
गोलरक्षकमा च्याम्पियन चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेस्टर सिटीका एडरसन र रियल म्याड्रिडका थिबाउट कोर्टुवा रहेका छन् । त्यसपछि पिएसजीका केलर नाभास (५० अंक), बायर्नका म्याउएल नोएर (३६ अंक), जान ओब्लाक (३५ अंक), जियानलुइजी डोनारुम्मा (२० अंक), मार्क आन्दर टेर स्टेगन (१३ अंक), अगुस्टिन मार्चेसिन (४ अंक) र एलिसन बेकर (४ अंक) शीर्ष १० मा रहेका छन् ।
खेलाडीलाई मत दिन च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गर्ने ३२ क्लबका प्रशिक्षक तथा युरोपेली स्पोर्ट्स मिडियाका ५५ पत्रकार रहेका छन् । मत दिनेले हरेक पोजिसनका तीन खेलाडीलाई क्रमश ५, ३ र १ अंक दिएका छन् । सर्वाधिक अंक प्राप्त गर्नेले उपाधि जित्नेछ । गत सिजन बायर्नका नोएर, किम्मिख र लेवान्डोस्कीसँगै केभिन डे ब्रुएन उत्कृष्ट भएका थिए ।