पीएसजी गएका मेस्सीले अब जित्न सक्छन् यी ५ व्यक्तिगत अवार्ड, राख्नेछन् थुप्रै किर्तिमान !

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई फ्री-ट्रान्सफरमा भित्र्याएसँगै फ्रेन्च क्लबलाई लिग १ र च्याम्पियन्स लिग जित्ने प्रमुख दाबेदारको रूपमा हेर्न सुरु गरिएको छ। गत सिजन लिग उपाधि लिललाई सुम्पिएको पीएसजी च्याम्पियन्स लिग सेमी-फाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

फुटबल इतिहास कै सर्वोत्कृष्ट मध्ये एक खेलाडीको आगमनसँगै क्लबमा मेस्सी-नेइमार-एम्बाप्पेको घातक ट्रियो बनेको छ जसलाई रोक्न विपक्षीका लागि सजिलो हुने छैन। गत वर्ष बार्सिलोनाको खराब सिजनका बाबजुद पनि मेस्सीको व्यक्तिगत प्रदर्शन भने निकै उत्कृष्ट रहेको थियो। स्टार खेलाडीले भरिएको पीएसजीको टोलीमा अझै उत्कृष्ट खेलाडी हुन् लियोनल मेस्सी।

बार्सिलोनामा खराब सिजन हुँदा पनि निकै उत्कृष्ट लयमा रहेका मेस्सीको साथमा पीएसजीका स्टार खेलाडी हुँदा उनले आउँदो सिजन हरेक उपाधि जित्ने सम्भावना बलियो रहेको छ। त्यस्तै, मेस्सीले व्यक्तिगत अवार्ड जित्ने सम्भावना पनि रहन्छ। आउँदो सिजनमा मेस्सीले यी ५ व्यक्तिगत अवार्डका लागि प्रमुख दाबेदारी प्रस्तुत गर्नेछन्।

युरोपियन गोल्डेन बुट 

बार्सिलोनाको कस्किँदो प्रदर्शनका कारण मेस्सीले गत दुई वर्ष उल्लेखनीय सङ्ख्यामा गोल गर्न सकेनन्। गत दशकका सर्वोत्कृष्ट खेलाडी मेस्सीले अहिलेसम्म कीर्तिमानी ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन्। टप युरोपियन लिगहरुमा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई प्रधान गर्ने उक्त अवार्ड यो पटक मेस्सीसँग सातौं पटक जित्ने मौका रहनेछ।

लिग १ प्लेयर अफ द सिजन 

लिग १ मा थुप्रै उत्कृष्ट खेलाडीहरुले वर्षभर कै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन्। अर्को नाम ३४ वर्षीय स्ट्राइकर लियोनल मेस्सीको हुनसक्छ। तर उनलाई आफ्नै टिममेट द्वय नेइमार र एम्बाप्पेले कडा टक्कर दिनेछन्। गत सिजन किलियन एम्बाप्पेले जितेको उक्त अवार्ड मेस्सीको क्षमताका कारण उनले जित्ने सम्भावना प्रवल रहेको छ।

ब्यालुन डी ओर 

कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेका मेस्सी यस पटकको ब्यालुन डी ओर जित्ने प्रमुख दाबेदार हुन्। मेस्सी गत सिजन बार्सिलोनाका बेस्ट प्लेयर थिए भने कोपा अमेरिका प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी रहेका थिए। आफ्नो राष्ट्रलाई कोपा उपाधि जिताएका मेस्सीले कीर्तिमानी सातौँ पटक उक्त अवार्ड जित्ने सम्भावना प्रवल रहेको छ।

युईएफए वर्ष खेलाडी 

फुटबल जगतको अर्को प्रतिष्ठित अवार्ड, युईएफए वर्ष खेलाडी उपाधि गत सिजन क्लब र देश दुबैका लागि सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेको यो अवार्ड मेस्सीले २ पटक हात पारेका छन्। गत सिजन लालिगा तथा कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेका मेस्सी यस अवार्डका लागि पनि दाबेदार हुनेछन्।

फिफा वर्ष खेलाडी 

अन्तिम पटक २०१९ मा यो उपाधि जितेका मेस्सी पुनः एक पटक पुरुष तर्फका फिफा वर्ष खेलाडी घोषित हुने सम्भावना रहेको छ। हाल यस अवार्डका साबित विजेता बार्यन म्युनिख स्टार रोबर्ट लेवान्डोस्की हुन्।

प्रकाशित : आइतबार, साउन ३१, २०७८१२:५०

५ पटक जब मेस्सी र नेइमारको जोडीले विपक्षीलाई ध्वस्त नै पारिदिए, पीएसजीमा फेरी दोहोरिएला यो जोडीको जादु ?