एजेन्सी – विश्वकप विजेता फ्रेन्च फुटबलरका लेजेण्ड थियरी हेनरीले एक फुटबल टोली उत्कृष्ट हुन सन्तुलित हुनुपर्ने बताएका छन्। दुई पटक विश्वकप जितिसकेका हेनरीले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा कुनै पनि टोली सन्तुलित नभई उत्कृष्ट नहुने बताएका हुन्।
हेनरीले अन्तर्वार्ता दिनेक्रममा कुनै पनि टोली सम्पूर्ण रुपले सन्तुलित हुनुपर्ने बताए। आक्रमणमा मात्र नभई डिफेन्समा पनि क्लब अब्बल भए मात्र उक्त टोलीले ठूलो सफलता हाँसिल गर्न सक्ने उनको भनाई छ।
विश्वकै उत्कृष्ट खेलाडी मानिने लियोनेल मेस्सी पेरिस सेन्ट जर्मन(पिएसजी) गएको विषयमा टिप्पणी गर्दै सन्तुलन मूख्य कुरा रहने हेनरीले बताए। विश्वकै उत्कृष्ट स्ट्राइकर मात्र नभई उत्कृष्ट डिफेन्डर भएको खण्डमा मात्र एक टोलीले उच्च सफलता हाँसिल गर्न सक्ने हेनरीको बुझाई छ।
“सन्तुलन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। हामी सधैं आक्रमणको कुरा गर्छौं, अगाडी जाने कुरा गर्छौं। तर टोलीमा सन्तुलन चाहिने हुन्छ।”,हेनरीले भने। त्यसो भनिरहँदा हेनरीले आफू बार्सिलोनाबाट खेल्दाको समय सम्झिए। त्यसबेला आफूहरुले कमै गोल खाएको हेनरीले उल्लेख गरे।
“धेरै मानिसहरु मैले खेल्दाको बार्सिलोना सम्झिन्छन्, तर त्यस समयमा हामी कमै मात्र गोल खान्थ्यौं भन्ने कुरालाई कसैले याद नै गरेनन्।”,उनले भने। कम गोल खाने टीमले नै ठूला उपाधि जित्ने उनले बताए। उनले भने,”सामान्यतया, धेरै गोल नखाने टीम नै ठूला उपाधिका नजिक हुन्छन्। तीनैले च्याम्पियन्स लीग जित्छन्।”
सर्वोत्कृष्ट खेलाडीहरुको उपस्थितले टोलीलाई केहि सहज हुने भएपनि टोली सन्तुलित नभएको अवस्थामा धेरै राम्रो प्रदर्शन गर्न नसक्ने हेनरीको विश्लेषण छ। हालको अवस्थामा पिएसजीले अलि बढी नै गोल खाइरहेको उनले बताए। त्यस्सले पिएसजीलाई धेरै सफल हुन नदिने उनले सङ्केत गरे। राम्रो डिफेन्स नभएको अवस्थामा मेस्सी-नेयमार-एम्बाप्पे भएर पनि पिएसजी धेरै सफल हुन नसक्ने तर्फ उनको सङ्केत थियो।