एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार फुटबलर किलियन एम्बाप्पेले आफूलाई बिक्री गर्न क्लबलाई सुझाव दिएका छन्। पिएसजीमा सम्झौता थप नगर्ने निर्णय गरिसकेका एम्बाप्पेले आफूलाई यहि सिजन बिक्री गर्न क्लबलाई आग्रह गरेका हुन्।
एम्बाप्पे मोनाकोबाट सन् २०१८ मा पिएसजी आएका थिए। त्यसबेला पिएसजीले उनलाई १ सय ६६ मिलियन पाउण्डमा भित्राएको थियो। एम्बाप्पेले सम्झौता थप नगर्ने आफ्नो निर्णय क्लबलाई सुनाइसकेपछि क्लबले भने एम्बाप्पेलाई क्लबमै अड्याउन जोड-बल गरिरहेको छ। तर, विभिन्न संचार माध्यमहरुका अनुसार एम्बाप्पे पिएसजीमा रहन चाहँदैनन्।
गएको केहि दिन देखि एम्बाप्पेले पिएसजीलाई आफ्नो बिक्री प्रक्रिया अगाडी बढाउन बाराम्बार आग्रह आग्रह गरिरहेका छन्। क्लबका अध्यक्ष नासेर अल-खैलाइफीले एम्बाप्पेलाई कुनै पनि हालतमा पिएसजी छाड्न नदिने भन्दै दिएको प्रतिक्रिया पछि एम्बाप्पे झनै बिच्किएको अवस्था छ। लियोनेल मेस्सी पिएसजी पुगेपछि एम्बाप्पेले आफ्नो बहिर्गमनलाई बढी प्राथमिकता दिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
एम्बाप्पेले क्लबलाई यहि ट्रान्सफर विन्डोमा आफ्नो ट्रान्सफर सम्भव गराउन आग्रह गरिरहेको फ्रेन्च मिडियाहरुको दावी छ। एम्बाप्पेको ट्रान्सफर पुनः चर्चामा आएसँगै स्पेनिस महारथी रियल म्याड्रिड तयारी अवस्थामा बसेको छ।
बताइएअनुसार, रियल एम्बाप्पेका लागि १ सय ५० मिलियन युरो सम्म तिर्न तयार रहेको छ। एम्बाप्पेका लागि रियल आर्थिक रुपमा पनि तयारी अवस्थामा बसेको बताइन्छ।