खोपपछि कक्षा १२ को परीक्षा हुने !

फाइल तस्बिर

काठमाडौँ,  कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तीन लाख ७४ हजार जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये ८४५ जना विद्यार्थी मात्र खोप लगाउन बाँकी रहने देखिएको बताउनुभयो । अन्य सबै विद्यार्थी १८ वर्ष पूरा भइसकेका छन् र उनीहरूले खोप लगाउन पाउने छन् ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको तथा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ । देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीन÷चार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक÷दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप लगाउने प्रबन्ध मिलाइदिन आग्रह गरिएको छ । उहाँले कक्षा १२ का सबै विद्यार्थीको प्रवेशपत्र आफूहरूले विद्यालयमा उपलब्ध गराइसकेकाले यसमा कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८०७:२७

माधव नेपालको एक-दुई दिनमै नयाँ दल !