काठमाडौं : माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि, सभामुख सापकोटाले कारबाही प्रक्रिया अघि बढाउँछन् भन्ने चासोको विषय छ। यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
सभामुख सापकोटाले एमालेको पत्रअनुसार कारबाही प्रक्रिया अघि बढाए ती १४ जनाको सांसद पद जान्छ। तर, सभामुखले आलटाल गरिरहेर त्यसअघि नै आयोगले नेपाल पक्षको दललाई मान्यता दिए सबैको पद सुरक्षित हुनेछ। १४ जना सांसदको कारबाही प्रक्रियाले राष्ट्रिय राजनीति र संसदीय अंकगणितमा भिन्न अवस्था ल्याउने निश्चित छ।
विपक्षी एमाले छिटो कारबाही गरेर उनीहरूको पद खारेज गर्न सभामुख सापकोटामाथि दबाब दिइरहेको छ। प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वको टोलीले बिहीबार सभामुख सापकोटालाई भेटेर पार्टीको पत्रअनुसार कारबाही गर्न आग्रह गरेको थियो। ‘सभामुखले निर्णय गरेर पद रिक्त भएको सूचना छिटो टास्नुपर्छ,’ भट्टराईले अन्नपूर्ण पोस्ट्सँग भने, ‘७२ घण्टासम्म पनि उहाँ (सभामुख) ले कुनै प्रतिक्रिया नदेखाउँदा हामीले गम्भीर आपत्ति जनाएका छौं। पार्टी, व्यक्ति वा राजनीतिक अवस्था हेरेर निर्णय गरेमा हाम्रो पार्टीलाई सह्य हुने छैन, विद्रोह गर्ने अवस्था नआओस् भनेका छौं।’