एजेन्सी – लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने सहयात्री नेइमारसँग पुर्नमिलन हुनेछ। र यो जोडीले एकपटक फेरि एकैपटक आक्रमण सम्हालेछन्। यी दुई खेलाडीसँग एक अर्का उत्कृष्ट खेलाडी किलियन एम्बाप्पे पनि जोडिनेछन्।
मेस्सी-नेइमार-एम्बाप्पेको ट्रियोलाई एकसाथ मैदानमा खेलेको देख्न अहिले पूरा विश्व जगत नै प्रतिक्षामा रहेको छ। मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ। २२ वर्षीय फ्रान्सेली युवा स्टार विश्व फुटबलको भविष्यको पोस्टर ब्वाय हुन सक्छन् । उनी विश्वको उत्कृष्ट खेलाडी हुन सक्ने आँकलन गरिएको छ। मेस्सी र नेइमार बीचको तालमेल भने सबैले बार्सिलोना मै देखेका छन्।
च्याम्पियन्स लिग जित्ने मुख्य लक्ष्यका साथ स्टार खेलाडीले भरिपूर्ण टोली तयार पारेको पीएसजीलाई लिग १ र च्याम्पियन्स लिग दुबै प्रतियोगिता जित्ने प्रमुख दाबेदार मानिएको छ। तर स्टार खेलाडी छ भन्दैमा कुनै पनि उपाधि सुरक्षित भने हुँदैन।
सुपरस्टार खेलाडीले भरिएको टोलीमा ठूला खेलाडीहरु बीच मनमुटाव हुनु कुनै नौलो कुरा हैन। यस्तोमा प्रशिक्षक मौरीसियो पोचेटिनोले हरेक खेलाडीलाई कसरी सम्हाल्छन् भन्ने कुरामा टिमको प्रदर्शन भर पर्नेछ। नेइमार, एम्बाप्पे, मेस्सी, रामोस भएको टोलीमा पेनाल्टी सुट कसले गर्ने, फ्री-किक कसले प्रहार गर्ने भन्ने पनि प्रश्न उठ्छ।
टिमको सफलताका साथै व्यक्तिगत सफलतामा पनि ध्यान दिँदा कतै टोलीको प्रदर्शन नै खराब त हुने हैन भन्ने प्रश्न पनि अहिले उठ्न सुरु भएको छ। मेस्सी-नेइमार-एम्बाप्पे तीनै खेलाडी पीएसजीको सुरुवाती खेलमा पर्नेमा कुनै शंका छैन तर के तीन सुपरस्टार खेलाडीमा व्यक्तिगत सफलताको लोभ त हुने हैन ? स्वार्थीपना त आउने हैन ? यस्तै यस्तै प्रश्नका बीच यी तीन सुपरस्टार खेलाडीलाई मैदानमा उतार्ने छ पीएसजीले।