युवा खेलाडी मोरिबालाई कोम्यानको सुझाव – ‘पैसा नै सबै कुरा होइन नि’

एजेन्सी – युवा खेलाडी आइलक्स मोरिबाका कारण क्याटलान क्लब बार्सिलोना तनावमा छ। मोरिबा बार्सिलोनासँग सन् २०२२ सम्मका लागि अनुबन्धित छन्। आउने वर्ष नै सम्झौता सकिने हुँदा बार्सिलोनाले अहिले नै सम्झौता थप गर्न चाहिरहेको छ। तर, मोरिबाले नयाँ सम्झौताका लागि मानिरहेका छैनन्।

मोरिबासँग क्लबले विभिन्न पटक छलफल चलाएको भएपनि बार्सिलोना प्रयास सफल हुन सकेको छैन। मोरिबा पक्षले अलि बढी नै डिमाण्ड गरेपछि बार्सिलोना अन्योलमा परेको अवस्था छ।

मोरिबा जस्तो क्षमतावान खेलाडीलाई बार्सिलोना सहजै गुमाउने पक्षमा छैन। मोरिबा ला मासिया एकेडेमीका उत्पादन समेत रहेका छन्। आफ्नै उत्पाद भएका कारणले पनि बार्सिलोनाले मोरिबालाई सम्झौता थप गर्न फकाइरहेको छ।

यसै बीच बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पैसा नै सबै कुरा नहुने बताएका छन्। आर्थिक पक्षका कारण मोरिबा र बार्सिलोना बीच सहमति हुन् नसकिरहेको अवस्था माथि टिप्पणी गर्दै कोम्यानले पैसा नै सबै कुरा नहुने बताएका हुन्।

मोरिबालाई आफूले केहि हप्ता अगाडी भेटेको र त्यसबेला एक प्रशिक्षकको रुपमा भन्दा पनि एक मानवको रुपमा आफूले सुझाव दिएको कोम्यानले बताए।

“मलाई क्लब मोरिबालाई के अफर गर्न चाहन्छ भन्ने थाहा छ। उनले यो उमेरमा पैसा नै सबै कुरा हो भनेर सोच्न हुन्न भन्ने मलाई लाग्छ। उनको प्राथमिकता खेलमा हुनुपर्छ। उनी र उनका मान्छेहरु अलि भिन्न तरिकाले सोच्ने रहेछन्, त्यसबाट म निराश छु। पैसा नै सबै कुरा होइन नि”,कोम्यानले भने।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१८:५१

दबावमा पिएसजी, पाँच खेलाडी बेच्दै ! को-को ?