एजेन्सी – बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सीको डेब्यू हुन बाँकी छ। मेस्सीले पिएसजीका लागि कहिले डेब्यू गर्ने कहिले हो त्यो अहिले सम्म टुंगो लाग्न सकेको छैन।
मेस्सी मात्र नभई नेयमार पनि नयाँ सिजनमा पिएसजीको टीममा परेका छैनन्। अहिले दुवै जना क्लबको प्रशिक्षणमै छन्। प्रीसिजनमा सहभागी हुन नपाएका कारण क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले दुवैलाई मैदानमा उतार्न हतार नगरेको बताइन्छ।
यसै बीच मेस्सी र नेयमार दुवै जना बार्सिलोना फर्किएका छन्। प्रशिक्षणकै क्रममा रहेका बेला मेस्सी र नेयमार बार्सिलोना पुगेका हुन्। दुवै बार्सिलोना विमानस्थलमा देखा परेको स्पेनिस मिडियाहरुको दावी छ।
बताइएअनुसार, मेस्सी र नेयमार दुवै पूराना मित्र लुइस सुआरेजलाई भेट्न बार्सिलोना पुगेका हुन्। सुआरेज र उनको परिवारलाई भेट्न मेस्सी र नेयमार छुट्टा-छुट्टै विमानमा बार्सिलोना पुगेको स्पेनिस मिडियाहरु बताउँछन्। नेयमार र मेस्सी एक साथ बार्सिलोना विमानस्थलमा देखा परेको र केहि समयमै दुवैको विमान एकै दिशामा उडेको मुन्डो डिपोर्टिभोले जनाएको छ।
बार्सिलोनामा मेस्सी, नेयमार र सुआरेज एक साथ खेलेका थिए। तीन जनाको जुगलवन्दीले बार्सिलोनालाई लालिगा मात्र नभई च्याम्पियन्स लिग समेत दिलाएको थियो। नेयमारले बार्सिलोना छाड्ने निर्णय गरेपछि भने नेयमार-मेस्सी-सुआरेजको ट्रियो छुट्टिएको थियो। गएको सिजन देखि सुआरेज एथ्लेटिको म्याड्रिडमा छन् भने नेयमार र मेस्सी एक साथ पिएसजीमा छन्।