रबिन्द्र मिश्र
लोकतन्त्रको नाममा
के बेचेनन् यिनले, सबै बेचे
लैनचौरको पर्खालभित्र
शरिर ढाक्ने वस्त्र बेचे
दिल्लीको दरबारभित्र
स्वाभिमानको अस्त्र बेचे
कोसी बेचे, गण्डकी बेचे
टनकपुर र पञ्चेश्वर बेचे
हुँदा, हुँदा अव त
प्रधानमन्त्रीको वासै बेचे
होशियार
यिनको छायाँ बन्नुअघि
गाउँ, शहरको भिडमा
पहिले आफूलाई चिन
होशियार!
जेलनेलको व्यथा कहेर
सर्वाहाराको कथा बुनेर
खाडीका शेखलाई
युवाका सपना बेचे
योरोप, अमेरीकामा
सिँगो देशको विपना बेचे
मुम्बाईका गल्लीमा
चेलीका चित्कार बेचे
कलकत्ताका पसलमा
गरिवका पसिना बेचे
बेचे यिनले सबै बेचे
भोका पेटका गरिवलाई
भ्रमैभ्रमको खेती बेचे
हुनेखाने सबैलाई
पद-पैसाको लालसा बेचे
भरभराउँदो पहाड बेचे
फरफराउँदो फाँट बेचे
बन बेचे, जङ्गल बेचे
हाँस हाँस्ने पोखरी बेचे
चरा गाउने सिमसार बेचे
बुढेसकालको लौरो बेचे
मृत्युशैयाको मुस्कान बेचे
देशै नयाँ खोज्न वाध्य पार्दै
सन्ततिको पहिचान बेचे
होशियार
यिनको छायाँ बन्नुअघि
गाउँ, शहरको भिडमा
पहिले आफूलाई चिन
होशियार!
(स्व अम्बर गुरूङ्को ‘होशियार’ शीर्षकको गीतबाट प्रेरित)
(फोटो: Danish Alam)