पहिराले सूर्यविनायकमा घरदेखि सडकसम्म भत्कायो, केही बस्ती जोखिममा

लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिराले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ ।

सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण सङ्कलन शुरु गरेको जानकारी दिनुभयो ।

उपप्रमुख बस्नेतका अनुसार वडा नं १ मा पहिराले दुई वटा घरमा क्षति पुगेको, केही घर जोखिममा रहेकाले तत्काल पहिरो रोकथाम नगरे ठूलै क्षति हुने बताउनुभयो । पात्लेटारमा रोकथाम नगरेर अन्य घरमा क्षति पुग्ने अनुगमनमा पाइएको छ ।

त्यसैगरी वडा नं ४ मा अनन्तलिङ्गेश्वर जाने मुख्य सडक नै भत्किएको, अन्य दुई वटा सडकमा क्षति पुगेको, गुण्डु– ७ र ८ भएर घ्याम्पेडाँडा जाने मुख्य कालोपत्र सडक पूरै पहिरासँगै जाँदा यहाँ जाने यातायातका साधनसमेत एक सातादेखि बन्द भएको छ । घ्याम्पेडाँडा दुई वटा घरमा क्षति पुगेको छ ।

वडा नं ९ नंखेलमा खोलाको डिलमा घर बनाएका कार्की बस्तीको छ घर उच्च जोखिममा परेको छ । यहाँको छ घरलाई अन्यत्र बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । वडा नं १० चित्तपोलमा तार जाली दिएर पहिरा रोकथामको प्रयास गरिएको छ भने पाँच वटा घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घरलाई वरिपरि नै त्रिपाल बेरेर राखिएको नगरपालिकाको उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सबै वडाका अध्यक्षलाई आफ्नो वडामा भएको क्षतिको विवरण सङ्कलन गरेर नगरपालिकामा बुझाउन भनेको बताउनुभयो । नगरपालिकाका प्रमुख वासुदेव थापाले भने नगरपालिकाले बाढीपहिरो पीडितका लागि नगरपालिकाले राहत उपलब्ध गराउने बताउँदै नगरपालिकाको बैठकले यसबारेमा निर्णय लिने बताउनुभयो ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६१०:५२

नेकपाको दार्शनिक मान्यता “जबज” नै हो , यसलाई मान्न तयार हुनुपर्छ : बाँस्कोटा