काठमाडौं । तस्करहरूले चीनबाट नेपालको बाटो हुँदै भारततर्फ ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको खुलेको छ । गोरखाबाट बिहीबार बिहान १६ किलो सुन बरामद भएपछि यसको रहस्य खुलेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेपनि त्यहाँ कडिकडाउ गरेपछि चीनको बाटो हुँदै सुन तस्करी हुन थालेको हो । चीनबाटै सुन ल्याइएको हो वा तेस्रो मुलुकबाट ल्याएको खुल्न नसकेको प्रहरीको उच्चस्रोतले जानकारी दिएको छ । चीनसँग नाका जोडिएका र नेपाली अधिकारी तथा सुरक्षाकर्मी कम हुने बाटोबाट तस्करले सुन लैजाने गरेका हुन् ।
प्रहरी स्रोतकै अनुसार सुनको तस्करी गर्ने केही गिरोह सक्रिय छन् । जसमध्ये एक समूह चुडामणि उप्रेती ‘गोर’को समूह पनि हो । सो समूह ध्वस्त भएपनि अन्य समूह सक्रिय रहेको छ । नेपालबाट तस्करी गरेर सुन भारत पुर्याउन सजिलो हुने भएकाले तस्करले पनि यही बाटो रोज्ने गरेका छन् । खुला सिमाना र पर्याप्त सुरक्षाकर्मी नहुँदा तस्करले भरिया प्रयोग गरेर सुन वारपार गराउने गरेको प्रहरीकै भनाइ रहँदै आएको छ ।
यसैक्रममा बिहीबार बिहान गोरखाबाट १६ किलो सुन बरामद भएको हो । सुन चीनको नाकाबाट ल्याएको झन्डै एक महिनापछि ओडारबाट बरामद भएको छ । सुन लिएर आएका धार्चे गाउँपालिकास्थित केरौँजा यारु बगरका धनकमल गुरुङ काठमाडौंबाट पक्राउ परेपछि सो रहस्य खुलेको हो । गत असार ११ गते उनी उत्तरी गोरखामा सामान पुर्याएर फर्कंदै गर्दा बाटोमा युवाहरूले आक्रमण गरेपछि उनले सुन त्यहीँ लुकाएका थिए । सो युवाको समूहले सुन लुट्न खोजेको थियो । तर, प्रहरीले थाहा पाउने भएपछि गुरुङले आफू लुटिएको भन्दै वडाध्यक्षलाई फोन गरे । वडाध्यक्षले प्रहरीलाई खबर गर्नू भनेर भन्दै गर्दा उनले फोन काटे । त्यसपछि गुरुङ एकाएक गायब भए । उनी कसैसँग पनि सम्र्पकमा आएनन् ।
खच्चडबाट सामान ढुवानीको काम गर्दै आएका व्यवसायी गुरुङका परिवारले खोजी गरिदिन भनेर प्रहरीमा उजुरी गर्यो । प्रहरीले सक्रियतापूर्वक खोजी नगरेको भन्दै स्थानीयले आक्रोश पोखिरहेका थिए । सोहीक्रममा आफ्नो कार्यक्षेत्रमा भएका घटनाको सूक्ष्म अनुसन्धान नगरी दिउँसै रक्सी खाएर बसेको आरोपमा गोरखाका तत्कालीन प्रहरी प्रमुख भोला रावलको असार २० गते सरुवा भयो । त्यसपछि नयाँ एसपी ओमप्रसाद अधिकारी गोरखा प्रहरी प्रमुखको रूपमा खटिए । उनले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरे ।
धनकमल आक्रमणमा परेको क्षेत्रबाट केही युवा पक्राउ परे । त्यसपछि अनुसन्धान जारी रहेका बेला धनकमल काठमाडौंमा देखिएको सूचना आयो । उनलाई बुधबार अपरान्ह प्रहरीले पक्राउ गर्न सफल भयो । सोधपुछ गरेपछि प्रहरीले पत्ता लगायो सो युवा समूह रकम नभई सुन लुट्न आएको भनेर बताए ।
उनी आउँदै गरेको बाटोको माछी खोलामा प्रहरी चौकी छ । दिउँसो सुन ल्याउँदा प्रहरीले सुइँको पाउन सक्ने ठानेर उनले राति नै माछी खोला कट्ने योजना बनाएका रहेछन् । तर, माछी खोला नपुग्दै केही युवाले सुन खोस्न लागेको थाहा पाएपछि धनकमलले बोराभित्र राखेको रुमालमा बेरे । खच्चड त्यहीँ छोडेर उनी खोर्लाबेंसी बजारदेखि एक किलोमिटरमाथि डाँडाको पहरामा पुगे । त्यहीँ बसे पोल खुल्ने डरले उनी सुरक्षित ठाउँ खोज्दै काठमाडौं आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
धनकमलले दिएको सूचनाका आधारमा प्रहरीले बिहीबार बिहान ओडारमा ढुंगाले थिचेर राखेको अवस्थामा फेला परेको छ । तिब्बतबाट १६ ओटा बिस्कुट सुन भारत पुर्याउन उनले भरियाको काम गरेका थिए । ‘खच्चड व्यवसायी धनकमल सुन बोक्ने भरियामात्र हुन् कि तस्कर खुलेको छैन,’ माछि खोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलसीराम चौधरीले भने, ‘अनुसन्धान भइरहेकाले बाँकी कुरा तत्काल भन्न मिल्दैन ।’