काठमाडौँ : कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तका लागि न्याय माग्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेवि संघ ) ले करणी पछि ज्यान गुमाएकी निर्मलाको दोषी पत्ता लगाउन नसकेको भन्दै शुक्रबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
निर्मलाले ज्यान गुमाएको वर्षदिन पुग्दा समेत अपराधीलाई कानुनी कठघरामा उभ्याउनुको सट्टा उल्टै गैर जिम्मेबार अभिब्यक्ति दिएको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले गृहमन्त्री राम बहादुर थापा “बादल” को राजिनामा माग गरेका थिए ।
उनीहरु ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
कञ्चनपुरको भिमदत्त नगरपालिका २ की निर्मलाको गत साउन १० गते करणीपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।