सेल्फीले लियो भक्तपुरकी शर्मिलाको ज्यान, चिप्लिएर तामाकोशीमा खस्दा मृत्यु !

काठमाडौँ – सेल्फी खिच्दा चिप्लिएर नदीमा खसेपछि रामेछापमा एक युवतीको मृत्यु भएको छ।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–७, हलेदेमा नदी किनारमा सेल्फी खिच्दै गर्दा चप्पल चिप्लिएर तामाकोशीमा खसेकी एक युवतीको शुक्रबार दिउँसो ज्यान गएको हो।

ज्यान गुमाउनेमा भक्तपुर कमलविनायककी १८ वर्षीया शर्मिला कर्माचार्य रहेकी छन्। शर्मिला दोलखाको भिमेश्वर मन्दिर दर्शनको लागि भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै गएकी थिइन्।

मन्थलीवाट दोलखातर्फ जाँदा लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्गको हलेदे भन्ने ठाउँ सम्म पुगेको र त्यहाँ सेल्फी खिच्ने क्रममा चप्पल चिप्लिएर तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

नदीमा बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्कालै मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाटबाट खटिएको टोलिले उद्धार गरे पनि मन्थलीस्थित तामाकोशी अस्पतालमा पुर्याइए लगतै डाक्टरहरुले मृत घोषणा गरेका हुन्।

शर्मिला भक्तपुरकै दूधपाटीमा रहेको रोज डेन्टलमा कार्यरत रहेको बताइएको छ। प्रहरीले उनीसँगै गएका रोज डेन्टलका डाक्टर, मृतक शर्मिलाकी दिदी लगायतसँग बयान लिने काम गरिरहेको छ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६१३:३०

एनजीयो यस्तो बदमासी : “जीवनको महत्वपूर्ण क्षण” भन्दै गर्भवती र सुत्केरीलाई कुहिएको अण्डा !