‘क्लिन फिड’ कानुन बनेको एक वर्षपछि लागू हुने

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक वर्षपछि लागू गर्नेगरी सहमति जुटाएको छ। विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना ‘टेलिभिजन सिग्नल डिस्ट्रिब्युट’को हकका लागि एक वर्ष र नयाँ ‘टेलिभिजन सिग्नल डिस्ट्रिब्युट’का लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको छ।

‘हामी निश्चित मिति राखेर क्लिन फिड लागू गर्ने सहमतिमा पुगेका छौं,’ समिति सभापति कल्याणी खड्काले भनिन्, ‘विधेयक पारितपछि राजपत्रमा सूचना प्रकाशित भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै लागू हुने व्यवस्था गरेका छौं।’ यो समाचार नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार ईश्वरी सुवेदीले लेखेका हुन्।

सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड तोकिएको मितिदेखि लागू हुने व्यवस्था राखेको थियो। ‘टेलिभिजन सिग्नल डिस्ट्रिब्युट’हरूले क्लिन फिडको व्यवस्था नै नराख्न माग गर्दै आएका थिए। सरकारले ल्याएको विधेयकमा कानुन लागू भए पनि तोकिएको मितिदेखि ‘क्लिन फिड’ लागू हुने व्यवस्था गरेको थियो। विधेयकमा भनिएको थियो, ‘नेपालमा प्रसारण हुने नेपाली टेलिभिजन च्यानलहरूले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।’ राष्ट्रियसभामा पहिला दर्ता भएकाले यस विधेयकलाई राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।

प्रकाशित : शनिबार, साउन ११, २०७६०१:५१

सरकारले तोकिएको हदबन्दीभन्दा बढी जग्गा भए जफत गर्ने