कपिलवस्तु : धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।
राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मार्यो, उनी छाँगाबाट खसेझैं भए । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार मनोज पौडेलले लेखेका हुन्।
कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगिएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । चिन्ताले घर जान सकिरहेका छैनन् । ‘के मुख लगाएर जाने,’ उनले भने, ‘भएको जागिर पनि छैन । समस्यामा छु ।’ अहिले उनी कृष्णनगरमा डेरा लिएर बसिरहेका छन् । उनीजस्तै सुर्खेतकी नन्दा परियार अलपत्र छिन् ।
उनलाई पनि मासिक ४० हजारभन्दा बढी कमाइ हुने प्रलोभन दिइएको थियो । ‘धेरै नै कन्भिन्स गरिएको थियो,’ उनले भनिन्, ‘परिवारको भलो हुन्छ ठानेँ, अहिले सम्पत्ति गुमाएँ ।’ गहना बेचेर ४ लाख र सरसापट गरेर ७ लाख रुपैयाँ नेटवर्किङ कम्पनीलाई बुझाएको उनले बताइन् ।