रौहतट । गत असार १० मा रौतहटमा थुनुवा बोकेको भ्यान पल्टियो । सो दुर्घटनामा दुई थुनुवाको मृ त्यु भयो । प्रहरीसहित १० जना मध्ये ८ जना बाँच्न सफल भए । हत्कडी लगाइएका अर्को थुनुवाको जोडी मर्नबाट त जोगिए तर सख्त घाइते भए । ६ जना प्रहरी हामफालेर बाँचे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
न्युनतम सुरक्षा पनि नभएको सवारी साधनमा दुई जनाको हातमा एउटा हत्कडी लगाएर गाडी चढाइएका थुनुवा हत्कडीकै कारण हाम्फाल्न नसकेर मृ त्यु भएको पीडित परिवारको आरोप छ । घट्नामा लागुऔषध मुद्दाका चन्द्रपुर– ६ का निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनरवा– ९ का रमेशकुमार चौधरीको दुर्घटनामा ज्यान गएको हो ।
घटनाको १ महिना भइसक्दा समेत हालसम्म पनि पीडित परिवारले क्षतिपूर्ति पाएका छैनन् । विप्लवको बन्द घोषणाले रौतहटमा सवारी साधन कम चलेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको दुईओटा जिप राजमार्ग गस्तीमा केन्द्रित थियो । गाडी अपुग भएपछि इलाका प्रहरी कार्यालयले डिभिजन वन कार्यालयसँग गाडी सहयोग मागेको थियो तर, काठ चोरी तस्करीमा बरामद गरेको बेवारिसे भ्यान स्वीकार गर्यो प्रहरीले ।
मंगलबार दिउँसो करिब २ बजे चार जना थुनुवाको म्याद थप गर्न ६ जना प्रहरीसहित त्यही गाडीमा गौर जाने क्रममा चन्द्रपुर नगरपालिका– १० बालचनपुर नजिक गाडी दुर्घटना भयो र २ जना थुनुवा अकालमा मरे ।
वन गस्ती टोलीले बरामद गरेको उक्त भ्यान प्रहरीले करिब तीन महिना अघि लिएको थियो । भ्यान पुरानो थियो । वनले जुन अवस्थामा दियो त्यही अवस्थामा प्रहरीले चलाउँदै आएको थियो । समय समयमा मर्मतसमेत नगरी चलाउँदा दुर्घटना हुन पुग्यो २ को ज्यान गयो ।
भ्यानको अगाडिको एक्सल भाँचिएर दुर्घटना भएको प्रहरीको भनाइ छ । उक्त भ्यानमा प्रहरीले ज १ च ११८९ नम्बरको रातो प्लेट राखेर चलाउँदै आएको थियो । भ्यान भारतीय नम्बरको चोरीको गाडी प्रहरीले चलाउन मिल्छ या मिल्दैन भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी कबित कटुवालले घट्ना भएको वेला आफू बिदामा रहेको बताए । उनी बिदामा घर गएको भए पनि प्रहरीले घटना अगाबै पनि चोरीको गाडीमा थुनुवा बोक्ने गरेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख कटुवाल बिदामा गएपछि निमित्त प्रमुख बनेका थिए प्रहरी निरीक्षक सन्तोष पाठक । उनकै कार्यकालमा भयानक दुर्घटना भएको भए पनि सामान्य स्पष्टिकरणसमेत सोधिएको छैन । बिदामा गएका डिएसपी कटवाल घट्ना लगत्तै कार्यालय आएर हाजिर भए पनि उनी प्रहरीको सवारी चालक बचाउनमात्रै केन्द्रित बनेको पीडित परिवारको आरोप छ ।
दुर्घटनामा दुई थुनुवाको मृ त्यु भएपछि पीडितका आफन्त तथा स्थानीयले बुधबार इलाका प्रहरी कार्यालय घेराउ र सडक बन्द गरेका थिए । प्रहरीको लापरवाहीका कारण दुर्घटना भई थुनुवाको मृ त्यु भएको आफन्तले आरोप लगाउँदै आएका छन् । पुरानो र मर्मतबिनाको गाडीमा थुनुवालाई लैजाँदा दुर्घटना भएको उनीहरूको तर्क छ । मृतकका आफन्त तथा स्थानीयले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि चक्का जाम गरेका थिए ।
बुधबार नै पीडितपक्ष र स्थानीय प्रशासनबीच छलफल भयो । छलफलमा पीडित परिवारलाइ १० लाख रुपैयाँ क्षतिपूर्तिको लागि सरकारसँग सिफारिस गर्ने, पीडित परिवारको एकजना सदस्यलाई योग्यताअनुरूप रोजगारीको व्यवस्था गर्ने र छोराछोरीलाई निशुल्क पढ्ने वातावतरण मिलाउने सहमति भएको एक महिनापछि मन्त्रिपरिषद्ले ५ लाख मात्र क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेका दुई बैठकले गरेका २० निर्णय बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन् ।
रौतहटमा जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरू मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार ५ लाख राहत उपलव्ध गराउने निर्णय गरिएको छ । पीडितपक्ष र स्थानीय प्रशासनबीच भएको १० लाख क्षतिपूर्तिको सहमति मन्त्रिपरिषद्को निर्णयले तोडिदिएकाले आन्दोलनबाहेक बिकल्प नरहेको पीडित परिवारको भनाइ छ ।
यता दुर्घटनामा जिप चालक प्रहरी सहायक निरीक्षक दिनेश चौलागाईँको छातीमा चोट लागेर घाईते भएका थिए । उनी उपचारपछि हाल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाजिर भइसकेका छन् । सवारी नियमानुसार सवारी चालक प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाउनु पर्ने भए पनि उनलाई हाजिर गराएर कार्यालय प्रमुख कटुवालले उनको संरक्षण गरिरहेका छन् । उनलाई कारबाही गर्नु पर्दैन भन्ने प्रश्नमा डिएसपी कटुवालले केही प्रतिक्रिया जनाएनन् । एउटा हत्कडी दुईजना थुनुवाको हातमा लगाइएकै देखिन्थ्यो । थुनुवालाई गर्नुपर्ने न्युनतम व्यवहार नगरिएको, थुनुवा भन्ने बित्तिकै जसो गरे पनि हुन्छ भन्ने मानसिकता रहेको मानवअधिकारकर्मी बिपिन गौतम बताउँछन् ।