काठमाडौं : चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी-कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो । चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरेको थियो । विभागले दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेको त छ तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन । यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेक सबै स्थानमा काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका इन्जिनियर निरञ्जन शर्माले सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको बताउनुभयो । उहाँका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।
तर दुई वर्षभित्र नबनेको पुल यो असारमा पनि सम्पन्न हुन सकेन । ‘६ वटै पुल निर्माण सम्पन्न गर्ने समयावधि यो असार मसान्तसम्म थियो । तर कुनैमा काम आधा पनि सकेको छैन भने कुनैमा सुरु समेत भएको छैन’ –उहाँले बताउनुभयो ।