कोसी उच्च बाँधमा कुरा मिलेन : आ-आफ्नै अडानका कारण बैठक बिनानिष्कर्ष टुंगियो

नयाँदिल्ली : नेपाल र भारतका अधिकारीहरूबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोतसम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटनगरस्थित संयुक्त कार्यालयलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उठाएको थियो ।

भारतीय पक्षले भने कार्यालयलाई निरन्तरता दिँदै परियोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएको थियो । ‘बैठकमा अहिलेकै अवस्थामा सप्तकोसीमा उच्च बाँध बन्न सक्दैन भन्ने प्रस्ट सन्देश दियौं,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, ‘उच्च राजनीतिक तहबाट परियोजनाको समग्र पुनरावलोकन नभएसम्म ठोस प्रगति नहुने भनाइ हाम्रो रह्यो ।’ यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार सुरेशराज न्यौपानेले लेखेका हुन्।

स्रोतका अनुसार नेपाली पक्षले त्यस्तो धारणा राखेपछि भारतीय पक्षले भने परियोजनालाई कम्तीमा अहिलेकै अवस्थामा भए पनि निरन्तरता दिनुपर्ने धारणा राखेको थियो ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०२:०५

नारायणगढ-मुग्लिन खण्डमा १८ वटा पुल बनाउन बाटो खुला