काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित राजपाको अवरोधका कारण सोमबारको संसद बैठक स्थगित भएको छ ।
सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै दुवै दलले यथास्थानबाट उठेर विरोध जनाएका हुन् ।
बैठक सुरु भएलगत्तै आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका सांसदले सभामुखले कार्यसूची अगाडि बढाउन लागेपछि रोष्टम घेराउ गरेका थिए ।उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए ।
प्रतिपक्ष दलका सांसदले करिब ३५ मिनेट नाराबाजी गरेपछि सभामुख कृष्ण बहादुर महरा बुधवारसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरेका छन्।
यसअघिका बैठकमा पनि यी दुवै दलले नेत्रविक्रम चन्द ‘विप्लव’का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल तथा सर्लाहीमै प्रहरीको गोली लागि मारिएका अर्का एकको मृत्यु सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएका थिए ।