अशक्त किशोरीमाथि सामूहिक बलात्कार, गाउँमै पञ्चायत बसेर डेढ लाखमा मिलापत्र

मोरङ : बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए ।

स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बलात्कार गरेको आरोप छ । घटना बाहिरिएपछि गाउँमै समाजको पञ्चायत बसेर स्थानीयले असार २६ मा मिलापत्र गराएका थिए । रोमनका बाबु चेतबहादुर मगरलाई किशोरीको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ साउन ६ भित्र दिनुपर्ने भन्दै सहीछाप गराएर पञ्चले घटनामिलापत्र गराएका थिए । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख कार्कीले बलात्कारको घटनामा मिलापत्र भएको ढिला जानकारीमा आएको बताए । ‘घटनामा संलग्न तीनमध्ये दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘रोमन र प्रिन्स पक्राउ परेका छन्, फरार रहेका सविनको खोजी भइरहेको छ ।’ बलात्कार जस्तो जघन्य अपराधको घटना मिलापत्र गराउनेहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन छानबिन भइरहेको उनले बताए । ‘बलात्कार जघन्य अपराध हो । त्यसमाथि यो घटना पीडित अशक्त किशोरी हुन्,’ उनले भने, ‘संलग्नमाथि त कारबाही हुन्छ नै, मिलापत्र गराउनेहरू जोसुकै भए पनि छानबिन गरेर कानुनी दायरामा ल्याउँछौं ।’ संलग्नमध्ये कसैले पनि छुट नपाउने उनले बताए ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०१:५७

राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो