भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो । पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ । उक्त चाँदीको नेपाली मूल्य रु एक लाख ७१ हजार २४१ हुने बताइएको छ ।
गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए । भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो । गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।
लागुऔषधसहित दुई पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमबजारबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा सोमबार साँझ दाङको घोराही उपमहानगरपालिका वडा नं १५ का २५ वर्षीय महेन्द्र विश्वकर्मा र सोही ठाउँकै १८ वर्षीय अभिषेक थापाको साथबाट २० पत्ता लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायब निरीक्षक लक्ष्मण ऐरले जानकारी दिनुभयो ।