बालुवाटार जग्गा प्रकरणबारे यस अघिका सरकारहरु के हेरेर बसेका थिए ? – ओलीको प्रश्न

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भ्रष्टाचार बढेको नभई सरकारको सक्रियताले पक्राउ पर्ने क्रम बढेको दावी गरेका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको स्पष्ट पारेका हुन्।

“सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो। भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर हेरिँदैन। सबैलाई कारबाही हुन्छ।”, उनले भने।

यस्तै उनले ‘ललिता निवास’को जग्गा प्रकरणबारे वर्तमान सरकारले छानबिन थालिसकेको पनि स्पष्ट पारेका छन्। पहिलाका सरकारहरुले यस सम्बन्धमा केहि पनि नगरेको प्रति पनि उनले प्रश्न उठाएका छन्।

“यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरू कराइरहेका छन्”,उनले भने,”योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए। त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठूला–ठूला कुरा गर्छन्।”

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६१३:३३

रेबिजविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा