भर्खरै सुत्केरी भएकी श्रीमतीलाई पठाएको डाइपरमा ४०० ग्राम सुन

काठमाडौँ : ‘म काठमाडौं उत्रें है,’ २२ असारमा कतारको दोहाबाट हिमालयन एयरलाइन्स हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेपछि लीलाबहादुर बस्नेतले कसैको मोबाइलबाट झापाको काँकडभिट्टामा श्रीमती जानुकालाई यति मात्रै सुनाउन भ्याएका थिए । बेलुकासम्म त आफ्नै पुरानो सिमबाट कसो फोन नगर्लान् भन्ने उनलाई लाग्यो । श्रीमान्ले राति अबेरसम्मै फोन गरेनन् । ‘गलेर आए, सुते होलान् । भोलि त फोन गरिहाल्छन्,’ भनेर उनले मन बुझाइन् । तर, भोलिपल्ट श्रीमान्बारे उनले अनपेक्षित खबर पाएपछि भने उनको भोक र निद्रा हराएको छ ।

सरकारले फ्री भीसा, फ्री टिकटको नीति लागू गरेको दुई वर्षपछि विदेश उडेका बस्नेत स्थानीय एजेन्टलाई १ लाख २० हजार रुपैयाँ बुझाएर क्लिनरको काम गर्न कतार उडेका थिए । २९ महिना काम गरेर नेपाल फर्केका उनी ४२ दिने छुट्टी सकेर गत फागुनमा सोही कम्पनीमा फर्केका थिए । कतार फर्केकै महिना दमका रोगी ८२ वर्षीय पिता शेरबहादुरको मृत्यु भयो । तुरुन्तै घर फर्कन खोज्दा उनलाई कम्पनीले बिदा दिएन । काम पनि भनेजस्तो नभएपछि उनी कम्पनी नै छाडेर घर फिर्ने निधोमा पुगे । नेपाल फर्कने अघिल्लो दिन श्रीमतीलाई फोन गरेर भने, ‘धेरै पैसा छैन । छोरीलाई गुडिया किन्देको छु । अलिकति चकलेट पनि छ ।’ यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार जनकराज सापकोटाले लेखेका हुन्।

काठमाडौं उत्रेपछि पशुपति गएर पण्डितसँग सल्लाह गरेर पिताको काजकिरियाको विधि टुंग्याएर मात्रै घर फर्कने सल्लाह भयो । तर, भोलिपल्ट काठमाडौं उत्रेपछि भने उनको खबर आएन । जानुकाको मोबाइलमा नयाँ नम्बरबाट मिसकल आएको थियो । श्रीमान्ले पो गरेका हुन् कि भनेर उनले फोन गरिन् । प्रहरीले रिसिभ गरेको फोनबाट उनले श्रीमान् सुन तस्करीको आरोपमा पक्राउ परेको घटना थाहा पाइन् ।

कम्पनी छाडेर नेपाल फर्कने अघिल्लो दिन कम्पनीकै एकजना कामदार साथी रामबहादुर तामाङले भनेका थिए– ‘घर फर्किंदा दोहा एयरपोर्टबाट ५० ग्रामको सुनको बाला लगिदिनु, ५ हजार रुपैयाँ ज्याला पाइन्छ ।’ वैदेशिक रोजगारीबाट कामदारहरूले स्वदेश फर्कंदा ५० ग्रामसम्मको सुन ल्याउन पाउने कानुनी व्यवस्था नै छ । यही व्यवस्थाको फाइदा उठाउँदै संगठित सुन तस्करले घर फर्कने कामदारहरूलाई पैसाको लोभ देखाएर ५० ग्राम सुनको बाला नेपाल ओसार्न लगाउँछन् ।

प्रहरीका अनुसार दोहास्थित विमानस्थल बाहिर बस्ने एजेन्टहरूले स्वदेश फर्कन लागेकाहरूलाई केही हजार लोभमा सुनको बाला ओसार्न लगाउँछन् । प्रस्ताव मानेका कामदारको फोटो र पासपोर्टको फोटो खिचेर दोहास्थित एजेन्टले काठमाडौंका एजेन्टलाई पठाइदिन्छन् । अनि जसै ती कामदार काठमाडौं उत्रन्छन्, एजेन्टहरूले विमानस्थल बाहिर उनीहरूलाई भेला पारेर सुनका बाला जम्मा पार्छन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार यस्तो प्रवृत्ति रोक्न प्रहरीले कडाइ गरे पनि सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार शाखाका प्रमुख गजेन्द्र ठाकुरको वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूलाई संगठित सुन तस्करहरूले उपयोग गर्ने क्रम निरन्तर चलिरहेको बताए । उनका अनुसार चालु महिना मात्रै कतारबाट फर्केका दुई कामदार बस्नेतझैं अरूको सुन बोकेका कारण पक्राउ परेका छन् । सप्तरीका दुई कामदारको कथा पनि उस्तै भएको बताउँदै उनले भने, ‘कानुनले दिएको सुविधा दुरुपयोग गर्दै एजेन्टहरूले केही हजारको लोभमा सोझा कामदारलाई उपयोग गर्ने गरेको देखिन्छ ।’

घर फर्कंदा कानुनसम्मत ५० ग्राम सुनको बाला ओसारे ५ हजार पाइने लोभमा लीलाबहादुर बस्नेत पनि फसे । साथीले भनेअनुसार विमानस्थल बाहिर उनले भेटेको व्यक्तिले ५० ग्राम सुनको बाला दियो । छुट्टिने बेला भन्यो, ‘हेर न मेरी श्रीमती भर्खरै सुत्केरी भाकी छे । नेपालमा राम्रो डाइपर पाइँदैन । यो सानो डाइपरको पोको र श्रीमतीलाई एउटा सेम्पु छ । लैदिनुस् न ।’

सानो पोको लगिदिएर सहयोग हुन्छ भन्ठानेर लीलाले त्यो पोको बोके । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेर श्रीमतीलाई फोन गरेको केही बेरमै बस्नेतलाई प्रहरीले पक्राउ गर्‍यो । उनले ल्याएको डाइपर लिन विमानस्थल बाहिर रुपेश गिरी र र टेकबहादुर थापा बसेका थिए । उनीहरू पनि प्रहरीको फन्दामा परे । प्रहरीले उनीहरू तीनै जनालाई टेकुस्थित प्रहरी परिसरमा लगेर हिरासतमा राख्यो । डाइपरको १ सय ७५ वटा टाँकभित्र चार सय ग्राम सुन बरामद भयो ।

प्रकाशित : बुधबार, साउन १५, २०७६०३:५५

सशस्त्र प्रहरीलाई थप शक्तिशाली बनाउने विषयमा बहस, काममा दोहोरोपन हुन नहुने