विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग

काठमाडौँ : चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ ।

‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘घटुवा गरे पनि खुला मोर्चामा जिम्मेवारी दिइएको छ ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेवारी पूरा नगरेपछि हटाइएको उनको भनाइ थियो । ‘अब नयाँ ढंगले चल्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ, केहीलाई कारबाही पनि हुन सक्छ,’ उनले भने । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार दीपेन्द्र विष्टले लेखेका हुन्।

चन्द समूहका एक नेताका अनुसार पार्टी कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको र केहीलाई बर्खास्त गरिएको छ । स्थायी कमिटीमा चन्द, हेमन्तप्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर थिए । चन्दबाहेकका चार जनालाई सचिवालय सदस्यको जिम्मेवारीमात्र दिइएको छ ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०२:१३

पौडेललाई गोली हान्नेसँग आयोगको बयान : प्रहरी अधिकारी भन्छन् – ‘पौडेलले गोली हान्दा मैले छलें’