काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले अर्को निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन्।
बिहिबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले अर्को निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउनेगरि जित्ने दावी गरेका हुन्।
कांग्रेस जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्ने र त्यसले कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै बहुमत प्राप्त हुने उनको विश्वास छ। उनले भने,”हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं ।”
केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी चलेको भन्ने समाचार आएको प्रति बोल्दै जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारेका छन्।
“महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं । महासमितिको बैठकले नयाँ विधान बनायो । अब नयाँ नियामावलीको टुँगो लगाउँछौं ।”,उनले भने।
यस्तै उनले वर्तमान सरकारको विदेश नीतिमा पुरै असफल भएको दावी पनि गरेका छन्। “सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ । त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।”,दावी गर्दै उनले भने।