बालुवाटार जग्गा किनबेचमा न्यायाधीश रेग्मी पनि : ससाना टुक्रा बनाएर बेचेको खुलासा

काठमाडौँ : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो ।

बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययन/अनुसन्धान गरिरहेका छन् । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार रेग्मीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा खरिद गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको अभिलेखबाट देखिएको छ ।

कान्तिपुरलाई प्राप्त मालपोत मोठको प्रतिलिपि लगतलगायत प्रमाणबाट रेग्मी उक्त जग्गा कारोबारमा संलग्न देखिएका हुन् । उनले २०६१ माघ ११ मा कित्ता नं. ४४, ४६ र १६५ को जग्गा किनेका थिए । भाटभटेनी सञ्चालक गुरुङबाट राजीनामा पास गरी जग्गा लिएका रेग्मीले मालपोतको अभिलेखमा ५ लाख ८२ हजार रुपैयाँमा खरिद गरेको जनाएर राजस्व तिरेका छन् । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार कृष्ण ज्ञवालीले लेखेका हुन्।

नापी कार्यालयको तत्कालीन अभिलेखमा रेग्मीले किनेको कित्ता नम्बर ४४ को जग्गा ५ आना ३ पैसा, कित्ता नम्बर ४६ को क्षेत्रफल ५ आना १ पैसा र कित्ता नम्बर १६५ को क्षेत्रफल २ पैसा २ दाम छ । सबै जोड्दा उनले किनेको जग्गाको कुल क्षेत्रफल ११ आना २ पैसा २ दाम हुन्छ । त्यतिबेला प्रतिआना करिब ५० हजार रुपैयाँका दरले कारोबार भएको देखिन्छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०१:५७

भारी बोक्ने भरियालाई किन चाहियो प्यान ?