सिमेन्टको ब्लक हानेर आफ्नै साथिको ज्यान लिनेको बयान – “परमात्माले भने मैले सिध्याइदिएँ”

काठमाडौँ – ललितपुरको नक्खुस्थित कारागारमा एक कैदीले सिमेन्टको ब्लक प्रहार गर्दा शुक्रबार अर्का कैदीको मृत्यु भयो ।

कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका सर्लाहीका ४५ वर्षीय पवनकुमार महत्तोको ब्लक प्रहारबाट कर्तव्य ज्यान मुद्दामै थुनामा रहेका बर्दियाका ३७ वर्षीय पूर्णबहादुर राजीको ज्यान गएको हो।

जेलर बेदप्रसाद अर्यालका अनुसार ब्लकले टाउकोमा हानेकाले भित्र गम्भीर चोट लाग्दा उनको ज्यान गएको हो । शुक्रबार दिउँसो १ः४५ बजे उक्त घटना भएको थियो । ब्लक प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारका लागि वीरअस्पताल ल्याइएकोमा चिकित्सकले २.३० बजे मृत घोषणा गरेका थिए ।

महत्तोलाई सोधपुछ गर्दा ‘निहुँ खोज्यो हान्दिएँ’ भनेर जवाफ दिएको अर्यालले बताए । आफ्नै साथीको ज्यान लिने पवनकुमारमा गल्ती गरेँ भन्ने भाव नदेखिएको कारागार निकट श्रोतले जनाएको छ।

प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा पवनकुमारले आफूलाई परमात्माले पठाएको भन्दै बयान दिएको श्रोतले बताएको छ। परमात्माले भनेकाले ह–त्या गरेको हुँ भन्ने बयान दिएपछि प्रहरी समेत चकित परेको बताइएको छ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुवै कैदी मनोरोगी रहेकाले नियमित औषधि लिइरहेका थिए । उनीहरु आपसमा साथीसाथी भएको जनाइएको छ । नक्खुमा देशभरबाट मनोरोगी भएका कैदी बन्दीलाई राख्ने गरिएको छ । मनोरोगी भएपछि राजीलाई विसं २०७३ मा प्यूठानबाट र महत्तोलाई विसं २०७४ सुनसरीको झुम्काबाट ललितपुर ल्याइएको थियो ।

अहिले उक्त कारागारमा ४०० भन्दा बढी मनोरोगी कैदीबन्दी रहेका छन् । कारागारमा सबै गरेर कूल एक हजार ४०० कैदीबन्दी रहेका जेलर अर्यालले जानकारी दिएका छन् ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०३:५३

दुई किशोरी सम्पर्कविहीन