काठमाडाैँ – राजा वीरेन्द्रको वंस समाप्त हुनेगरी भएको दरबार ह-त्याकाण्डमा राजपरिवारका दश-दश जना सदस्यहरु मारिएका थिए । तर उनीहरुको दाहसंस्कार पोस्टमार्टम नै नगरी गरिएको थियो जसले यो ह-त्याकाण्डलाई थप रहस्यमय बनाएको थियो । कसैले मुख खोल्न नचाहिरहेको अवस्थामा तयार पारिएको हो रिपोर्ट :
नारायणहिटी पर्वमा परी स्वर्गीय होईबक्सेका श्री ५ वीरेन्द्र, श्री ५ ऐश्वर्य, श्री ५ दीपेन्द्र, श्री ५ अधिराजकुमार नीराजन, श्री ५ अधिराजकुमारी श्रुति लगयात राजपरिवारका अन्य पांच सदस्यहरुको पार्थिव शरीरको अन्त्येष्टिअघि पोस्टमार्टम नगरिएको पुष्टि भएको छ ।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालसम्बद्ध सुत्रले भन्यो, “पोस्टमार्टम भएको छैन ।”
“पोस्टमार्टम गर्न हामीलाई सैनिक अस्पतालमा बोलाइयो । पोस्टमार्टम हुने विश्वाश लिएर हामी त्यहाँ पुग्यौं, कुरयौं । तर पछि राजपरिवारका सदस्यको शव पोस्टमार्टम गर्नु नपर्ने जानकारी आयो ।” बिगत दश वर्षदेखि काठमाण्डौ जिल्लामा पोस्टमार्टम कार्य गर्दै आउनुभएका शिक्षण अस्पतालको पोस्टमार्टम विभागमा कार्यरत कानूनी चिकित्साविद डा. हरिहर वस्तीले उक्त जानकारी दिंदै राजपरिवारका दिवंगत सदस्यको पोस्टमार्टम नभएको पुष्टि गर्नुभयो ।
पोस्टमार्टम गर्नकै लागि गत शनिबार र सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पोस्टमार्टम प्रमुख डा. प्रमोद श्रेष्ठको नेतृत्वमा डा. हरिहर वस्ती र डा. तुलसी कंडेलको टोली मुचुल्का उठाउने प्रहरी अधिकृतहरुको समूहसँग छाउनी अस्पताल पुगेको थियो । पोस्टमार्टम बिशेषज्ञहरुको उक्त टोली गत शनिबार करिब तीन घण्टा र गत सोमबार करिब पाँच घण्टा छाउनीस्थित अस्पतालमा पोस्टमार्टम गर्ने निर्देशन पर्खेर बसेको थियो । तर पोस्टमार्टम गर्नु नपर्ने निर्देशन ‘माथिबाट’ आएपछि विशेषज्ञहरुको टोली पोस्टमार्टम नगरी फर्केको थियो, उक्त टोलीमा संलग्न एक विषेशज्ञले राजधानीलाई बताए । कानूनी चिकित्सा बिशेषज्ञ वस्तीका अनुसार सैनिक र प्रहरी अस्पतालमा क्लिनिकल पोस्टमार्टम सुबिधा मात्रै छ । फोरेन्सिक पोस्टमार्टम सुविधा यी दुवै अस्पतालमा छैनन् । नेपालमा कानूनी चिकित्सा बिशेषज्ञ पाँच जना मात्र छन । तीमध्ये तीनजना शिक्षण अस्पताल महाराजगंज र दुइ जना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा कार्यरत कानूनी चिकित्सा बिशेषज्ञहरुले पोस्टमार्टम गर्न नपाएपछि राजपरिवारका दिवंगत सदस्यहरुको पोस्टमार्टम नगरिएको प्रष्ट भएको छ ।
राजधानीले शुक्रबार सोधेको एक प्रश्नमा सैनिक अस्पताल सुत्रले भन्यो, “पोस्टमार्टम गर्ने, नगर्ने निर्णय हामीले गर्ने होइन । हामीलाई जे निर्देशन आउँछ, त्यही गर्ने हो ।” तर नेपाल बार एसोसिएनका अध्यक्ष सिन्धुनाथ प्याकुरेलका अनुसार अस्वभाविक घटनामा परी निधन भएका व्यक्तिको शव पोस्टमार्टम नगरी जलाउन पाइदैन । पोस्टमार्टमको प्रतिबेदन नै अनुसन्धानको मूल कडी हो ।
“पोस्टमार्टम गर्न नदिँदा के हुन्छ ?” राजधानीले सोधेको प्रश्नमा बार एसोसिएसनका अध्यक्ष प्याकुरेलले भन्नुभयो, ” जस-जसले पोस्टमार्टम नगरी पार्थिव शरीर जलाउने निर्देशन दिए, उनीहरु पनि अपराधको दायाराभित्र आउँछन् ।” पोस्टमार्टम नगर्दा अनुसन्धानले कानुनी प्रमाण गुमाउने दाबी गर्दै बारका अध्यक्ष प्याकुरेलले थप्नुभयो-“गोलीले मर्यो भनेर मात्र सुख पाइदैन । गोली कहाँ कहाँ कतिवटा लागेको थियो, सबै कुरा सार्वजनिक गर्नुपर्छ ।” पोस्टमार्टम नगरिंदा कानुनी दृष्टिकोणमा गम्भीर त्रुटी भएको छ, बारका अध्यक्ष प्याकुरेलले दाबी गर्नुभयो ।
पोस्टमार्टम भए नभएको छानबिन समितिको सदस्य सभामुख तारानाथ रानाभाटले भन्नुभयो,”दरबारभित्रको परम्परा के छ बुझेपछि मात्रै बोल्न सकिन्छ ।” तर उहाँले अनुसन्धान प्रभावित हुने नहुने स्पस्ट पार्न चाहनुभएन ।
सर्बसाधारण नागरिक समेतको अस्वभाविक रुपमा निधन भएको छ भने पार्थिब सरीरको अन्त्योसटि गर्नुअघि पोस्टमार्टम गर्ने कानुनी प्राबधान र प्रचलन विश्वमा सबैतिर हुन्छ । अन्तराष्ट्रियरुपमा प्रसिद्धि पाएका तत्कालिन भारतीय प्रधानमन्त्री
इन्दिरा गान्धी र बेलायतकी राजकुमारी डायनाको निधनपछि पोस्टमार्टम गरेर मात्र पार्थिब सरिरलाई नस्ट गरिएको थियो । स्वर्गीय गान्धीको निधन नयादिल्लीस्थित प्रधानमन्त्री निवासमा आफ्नै अङ्गरक्षकले हानेको गोलीको कारण भएको थियो भने राजकुमारी डायनाको निधन चढिरहेको कार ठोकिएर दुर्घटनाग्रस्त हुँदा भएको थियो ।
“चिक्त्सा बिज्ञानमा कसैको अस्वभाविक निधन भएको छ भने शबको पोस्टमार्टम गर्नैपर्छ, ” नेपाल मेडिकल काउन्सिलका डा. पूर्णचन्द्र कर्मचर्याले राजधानीलाई वताउनुभयो । शिक्षण अस्पताल पोस्टमार्टम बिभागको कानुनी चिक्त्सा बिशेषज्ञ बस्तीले भन्नुभयो-“राजदरबारको चलन मलाई थाहा भएन तर यस्तो अस्वभाविक घटनाको पोस्टमार्टम गर्नैपर्थ्यो ।”
स्राेत : प्रज्ज्वल चापागाईंको व्लग बाट