नेपालमा तीन तलाकको अभ्यास

काठमाडौँ – कानुनले मान्यता नदिए पनि तीनपटक तलाक भनेर तत्काल (सम्बन्धविच्छेद) गरिने एकखाले अभ्यास नेपालको मुसलमान समुदायमा अझै पनि कायम रहेको अधिकारकर्मीहरूले बताएका छन् । तीनपटक ‘तलाक’ भनेर सम्बन्धविच्छेद गरिने अभ्यास नेपालमा कानुनी नभए पनि यो सामाजिक मान्यताको रुपमा रहिरहेको उनीहरू बताउँछन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

मुसलमान समुदायका लागि छुट्टै पारिवारिक कानुन भएको भारतले पनि तीन तलाकलाई अपराध ठहर गर्ने एक विवादास्पद विधेयक हालै पारित गरेको छ । नेपालमा भारतमा जस्तो मुसलमान वा अन्य कुनै धार्मिक समुदायका लागि छुट्टै परिवारसम्बन्धी कानुन भने छैन ।

तर, विशेषगरी तराई क्षेत्रमा बसोवास गर्ने मुसलमान समुदायमा यो प्रचलन कायम रहेको उनीहरू बताउँछन् । यसले मुसलमान महिलामाथि अन्याय हुने र विनाकारण पतिले तीन तलाक भनेको भरमा सम्बन्धविच्छेद गरिदाँ पुरुषहरू महिला हिंसा गर्न अझै उद्यत् रहेने उनीहरूको तर्क छ ।

कतिपय अधिकारकर्मी भने तलाकका विषयलाई लिएर नकारात्मक कुरा मात्र गरिएको बताउँछन् । उनीहरू यसले पार्ने असरका बारेमा बोल्न चाहदैनन् । नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान भन्छिन्, ‘मुसलमान पारिवारिक कानुनमा पुरुषले मात्र तलाक दिन पाउने भन्ने छैन । महिलालाई पनि उत्तिकै हक छ । त्यसले सम्पत्तिको हकलगायतका कुरा पनि समेट्छ

प्रतिनिधिसभाका सांसद तथा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष शेख चाँदतारा भन्छिन्, ‘नेपालमा भारतमा जस्तै धेरै मात्रामा नभए पनि यस्तो अभ्यास कहिँकहिँ कायमै छ । मैले महोत्तरी र बाँकेमा यस्तो अभ्यास धेरै पाएँ ।’ उनको अनुभवमा त्यस क्षेत्रका महिलाका सम्बन्ध पुरुषको तीन तलाक भन्ने दुई शब्दमा एक पक्षीय रूपमा समाप्त हुन्छ ।

उनले धेरै पुरूषहरूले यस्तो चलनको दुरुपयोग गरेको पनि आफूले पाएको जानकारी दिइन् । ‘अहिले वैदेशिक रोजगारीमा गएका पुरुषहरूले अरूका कुरा सुनेकै भरमा उतैबाट फोन गरेर तलाक दिने गरेका उदाहरण पनि पाइएका छन्, उनले भनिन्, ‘त्यसले महिलाहरूलाई पीडित बनाएको छ ।’ उनको अनुसार कुनै पनि बहाना बनाएर लामो समय भेटघाट नभएका पतिले पनि पत्नीलाइ फोनबाटै तीन तलाक भनेपछि सम्बन्ध सकिने गरेको छ ।

धार्मिक मान्यताअनुसार पुरूषले मात्र नभई महिलाले पनि कतिपय अवस्थामा श्रीमान् छाड्नसक्ने उनले बताइन् । तर, अभ्यासमा भने पुरुषले मात्र महिलालाई छाडेको पाइएको उनको तर्क छ ।

नेपालगञ्जमा कार्यरत फातिमा फाउन्डेसनकी उपाध्यक्ष मैमुन सिद्दिकीका अनुसार नेपाली मुसलमान समुदायमा पनि तीन तलाकको चलन रहेको र त्यसले धेरै मात्रामा महिलालाई पीडित बनाएको बताइन् । नेपाल–भारत सीमा क्षेत्रमा यसले थप जटिल समस्या निम्त्याएको सिद्दिकीले जानकारी दिइन् ।

‘सीमा क्षेत्रमा नेपाल र भारतका परिवारबीच विवाह गर्ने चलन छ । त्यस्तोमा भारतमा विवाह गरेका महिलाहरूलाई पतिले तलाक दिएपछि उनीहरू सुरक्षाका कारणले पनि भारतमा पतिविरुद्ध केही गर्न सक्दैनन्, उनले भनिन्, ‘भारतबाट नेपालमा विवाह गरेर ल्याएका महिलालाई त्यस्तै हुँदा उनीहरू पनि समस्यामा नै पर्छन् ।’

कतिपय अधिकारकर्मी भने तलाकका विषयलाई लिएर नकारात्मक कुरा मात्र गरिएको बताउँछन् । उनीहरू यसले पार्ने असरका बारेमा बोल्न चाहदैनन् । नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान भन्छिन्, ‘मुसलमान पारिवारिक कानुनमा पुरुषले मात्र तलाक दिन पाउने भन्ने छैन । महिलालाई पनि उत्तिकै हक छ । त्यसले सम्पत्तिको हकलगायतका कुरा पनि समेट्छ । विधवा र एकल महिलाको सहजै विवाह गराउने कुरा पनि छन् । त्यस्ता राम्रा कुराको चर्चा हुने गरेको छैन ।’ उनको अनुसार तीन तलाक मात्रै होइन मुस्लिम कानुनमा महिलाका पक्षमा पनि राम्रा कुरा छन् ।

उनी मुसलमान समुदायमा प्रचलित प्रथाजन्य अभ्यासलाई समेटेर मुसलमान समुदायका लागि छुट्टै पारिवारिक कानुन बनाउनुपर्ने बताउँछिन् । तर, उनको उक्त कुरालाई अन्य अधिकारकर्मीचाहिँ उपयुक्त ठान्दैनन् ।

सांसद चाँदतारा भन्छिन्, ‘कुनै समुदायका लागि छुट्टै कानुनी व्यवस्था गर्नु हुँदैन । त्यसले महिलामाथि थप शोषण गर्न सक्छ भन्ने पनि हामीले ख्याल गर्नुपर्छ ।’ नेपालगञ्जकी सिद्दिकीचाहिँ तलाकबारे महिला र धर्मगुरुहरूलाई सचेत बनाउनुपर्ने बताउँछिन् ।

प्रकाशित : आइतबार, साउन १९, २०७६०३:४५

जम्मु कश्मीर प्रकरण : कश्मीरको बाछिटा नेपालसम्म आउला ? नेपालमा हुन सक्छ यस्तो असर