उदार मनले नागार्जुनमा बस्न दिएका हौं, बकवास गरे जनताले छुट दिँदैनन् : प्रचण्ड

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई उदार मनले नागाजुर्नमा बस्न दिएको बताएका छन् ।

आइतबार सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाट (सुनकोसी) पक्की पुलको उद्घाटन गर्दैै प्रचण्डले भने, ‘तपाईं जनताले हामीलाई उदारता सिकाउनुभयो । हामीले उदार मनले सुरक्षासहित नागार्जुनमा बस्न दिएको त १० वर्ष नपुग्दै बकवास गर्न थालेका छन् । यसरी बकवास गरिरहे जनताले छुट दिने छैनन् ।’

‘बकवास बन्द गरे हुन्छ’, पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘जनताले रगत बगाएर ल्याएको गणतन्त्र रक्षा गर्न फेरि हजारौं बलिदान हुन तयार छन् ।’

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम लिएनन् । तर, उनीप्रति लक्षित गर्दै भने, ‘बुद्धि फिराएर जनताले ल्याएको व्यवस्था आत्मसात् गर्न सुझाव दिन चाहन्छु ।’

प्रचण्डले लामो समय पूर्वराजाका केही सहयोगीप्रति लक्षित गर्दैै उनीहरूलाई ‘दास’ र ‘बिचौलिया’को संज्ञा दिँदै आलोचना गरेका छन् ।

राजा र उनका सहयोगीको आलोचना गर्नुको कारण प्रस्टयाउँदै प्रचण्डले भने, ‘राजाका पालाका केही मन्त्रीहरूले अब सरकार फेर्ने होइन । सिस्टम नै फेर्ने बेला आयो भनेको सुनेपछि यसो भनेको हुँ ।’

‘संघीय गणतन्त्र नाटकीय ढंगले भएको परिवर्तन होइन’, प्रचण्डले भने, ‘हिजो सामन्तको दलाली गर्ने दासहरू, दलालहरू सरकार होइन सिस्टम बदल्ने कुरा गर्न थालेका छन् ।’

जीवनभर तानाशाहीको दलाली र चाकडी गरेकाहरूले ‘राजा ल्याउँछु’ भन्न थालेको उल्लेख गर्दै उनले भने, ‘संघीय गणतन्त्रसँगै आएको विकासको गति रोकेर अब फेरि जनतालाई निरंकुशताको जाँतोमा पिस्ने सपना उनीहरूले देखेका छन् । अब पनि जनतालाई दास र रैती बनाउने सपना पूरा हुने छैन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई तानाशाहले दया गरेर दुई तिहाई मत दिएर अहिलेको स्थानमा नपुर्‍याएको उल्लेख गर्दै प्रचण्डले भने, ‘त्यसैले राजा–महाराजाका दलालहरूको दिवास्वप्न पूरा हुँदैन ।’

केपीलाई पटकपटक गोली हान्न खोजिएको थियो !
तानाशाहले आफ्नो टाउकाको मूल्य ५० लाख रुपैयाँ तोकेको स्मरण गर्दै प्रचण्डले आफूलाई शोले फिल्मका गब्बरसिंसँग तुलना गरेका छन् ।

‘मेरो अगाडि गब्बरसिं त फुच्चे !’, उनले भने, ‘गब्बरसिंको मूल्य जम्मा ५० हजार तोकिएको थियो, मेरो ५० लाख ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले दया गरेर प्रधानमन्त्री पद नदिएको प्रचण्डले बताए ।

‘लामो समय जेल बस्दा केपी ओलीलाई पटक–पटक जेलबाट बाहिर निकालेर गोली हान्न खोजिएको थियो’, प्रचण्डले भने, ‘केपी ओली स्वास्थ्य परीक्षण गर्न विदेश जाँदा वा परिवारका लागि मैले केही गर्न खोजेमा होहल्ला मच्चाउँछन् । हिजोका राजा–महाराजाहरूलाई हेरौं त, उनीहरूले के–के गरे ?’

रामेछाप, सिन्धुली र काभ्रेको संगम स्थलमा रहेको खैरेनीघाट पुल उद्घाटनसँगै यहाँका स्थानीयमा खुसी छाएको छ ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट निर्णय गरेर खैरेनीघाट (सुनकोसी) पुल निर्माण सुरु भएको थियो । ९० दशमलव पाँच मिटरको पुल सञ्चालमा आएसँगै रामेछापका खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाका स्थानीय लाभान्वित भएका छन् ।

प्रकाशित : आइतबार, साउन १९, २०७६१२:०३

सातै प्रदेशका प्रदेश प्रहरीको एकै खाले पोशाक रहने, प्रदेशप्रति नै प्रदेश प्रहरी उत्तरदायी हुने