आफ्नो नागरिकता खारेज भयो भन्दै समाचार आएपछि राजपा नेता राजेन्द्र महतोले यसो भने…

काठमाडौँ – डिजिटल मिडियाहरुमा “राजेन्द्र महतो” को नागरिकता खारेज बारे आएको समाचार प्रति राजपाका नेता तथा सांसद राजेन्द्र महतोले आपत्ति जनाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभामा समय लिएर बोल्ने क्रममा महतोले “राजेन्द्र महतो” को नागरिकता खारेज भयो भन्दै आएको समाचार प्रति आपत्ति जनाएका हुन्।

राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज भन्दा ठाउँ, ठेगाना नखुलाइएको प्रति उनले प्रश्न गरेका छन्। हेरक काममा असफल भैरहेको सरकारले आफ्नो राष्ट्रियता माथि प्रश्न उठाउँदै भ्रम छर्ने काम गरेको भन्दै उनले सरकारको नियत माथि समेत प्रश्न उठाएका छन्।

संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको प्रती सरकारको नियत ठिक नदेखिएको उनको आरोप छ। “कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।”,प्रश्न गर्दै उनले भने।

कुनै पनि अवस्थामा नाम मिलेको खण्डमा कृष्णबहादुर महरा महाडकैत रहेको र आजीवन कारावास सजाय भयो भन्दै समाचार आयो भने के हुन्छ भन्दै पनि महतोले प्रश्न गरेका छन्।

पूर्ण विवरण सार्वजनिक नगर्दा आफ्नो मानहानी भएको हुँदा सरकारले माफी माग्नुपर्ने माग गरेका छन्। यस्तै उनले सञ्चार माध्यमले पनि ध्यान नदिई समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नागरिकबाट हटाउने निर्णय गरेको बारे सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा जानकारी गराएका थिए।

उनका अनुसार अशोक साह, विन्दे महतो, दानादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरिएको थियो।

रद्द गरिएका नागरिकता मध्ये राजेन्द्र महतोसँग राजपा नेताको नाम मिल्न गएपछि डिजिटल मिडियाहरुमा “राजेन्द्र महतोको नागरिकता खारेज” भन्दै समाचार आएका थिए।

प्रकाशित : सोमबार, साउन २०, २०७६०८:४६

नरेन्द्र मोदी सरकारको अहिले सम्मकै बोल्ड कदम : जम्मु काश्मिर टुक्रियो !