अटो रिक्सा र जीप ठोक्किएर भयानक दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौँ – सोमबार दिउँसो कैलालीमा भएको एक सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकमा अटो रिक्सा र जीप ठोक्किँदा गम्भीर घाइते भएका मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा अटोमा सवार धनगढी उप–महानगरपालिका १७ का ५६ वर्षीय चनकलाल डगौरा रहेका छन्।

डगौरा ६ लेन सडक खण्डको गेटा स्थित एयरपोर्ट जाने बाटो नजिकै से.१ च ८२३ नम्बरको जीप र ना ३ स ५५६६ नम्बरको अटो रिक्सा एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेती अञ्चल अस्पतालमा उपचार हुने गर्दा डगौराको ज्यान गएको हो। सोहि दुर्घटनामा परी डगौराकी श्रीमती अनिला डगौरा समेत गम्भीर घाइते भएको बताइएको छ।

अनिला डगौरा सहित गम्भीर घाइते भएका रुपनीदेवी चौधरीलाई थप उपचारका लागि सेती अञ्चल अस्पतालले कोहलपुर रिफर गरिएको कैलाली प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते मध्ये तीन जना डिस्चार्ज भैसकेको र अटो चालक दीपक धामी र जीप चालक तारासिंह साउँदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी गराएका छन्।

प्रकाशित : सोमबार, साउन २०, २०७६११:३५

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री