बार्सिलोनालाई झड्का : प्रशिक्षणमा भर्किए लगतै घाइते भए मेस्सी ! के भएको हो खास ?

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सी कोपा अमेरिकाको विश्रामपछि सोमबारदेखि प्रशिक्षणमा सामेल भए । तर दुर्भाग्यवस मेस्सी पहिलो दिन नै घाइते भएका छन् ।

प्रशिक्षणमा सामेल भएको केहिछिनमा नै उनको दायाँ खुट्टाको पिडुल्लामा चोट लागेको हो । उनको चोटबारे प्रारम्भिक जाँच गर्दा पहिलो श्रेणीको समस्या देखिएको क्लबले जनाएको छ । यद्यपि उनको चोटबारे विस्तृत विवरण थप परिक्षणपछि प्राप्त हुनेछ । क्लबका अनुसार मेस्सीले अब प्रशिक्षणमा सहभागीता जनाउने छैनन् । उनले क्लबको अमेरिका टुर पनि गुमाउने भएका छन् ।

बार्सिलोनाले अमेरिकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको थियो । मेस्सीको चोटसँगै अब बार्सिलोनाले लुइस सुआरेज र एन्टोइन ग्रिजमनमा नै भर पर्नुपर्ने छ । मेस्सीलाई सिजनको सुरुवातमा पूर्ण फिट पाउन पनि क्लबले उनलाई विश्राम दिने निर्णय गरेको बुझिएको छ ।क्लबले अमेरिका प्रस्थान गर्ने टोली पनि घोषणा गरिसकेको छ ।

कोपा अमेरिकामा सहभागिता जनाएर विश्राम लिएपछि मेस्सी सोमबार मात्र प्रशिक्षणमा आएका थिए । कोपा अमेरिकामा मेस्सी मैदानभित्र भन्दा मैदानबाहिरका कारणले चर्चामा आएपछि उनले पूर्ण विश्राम लिएका थिए । मेस्सीलाई कोपा अमेरिकामा रेफ्रीको आलोचना गरेका कारण दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले ३ महिना प्रतिबन्ध र ५० हजार डलर जरिवाना पनि गरेको छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१२:२०

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा, को-को परे नेपालको समूहमा?