प्रचण्डलाई शिव सेनाको जवाफ : पूर्वराजा बारे जथाभावी बोल्दै हिँडे हेगको व्यवस्था नेपालमै हुन्छ …

काठमाडौँ : शिव सेना नेपालले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई जथाभावी बोल्दै हिँडे नेपाली जनताले नेपालमै हेग तयार गर्ने चेतावनी दिएको छ ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले आइतबार एक विज्ञप्ति जारी गरि बिनाअपराध पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने कुरा गरे प्रचण्डलाई १७ हजार नेपाली जनताको ज्यान लिएको अभियोगमा स्वदेशमै हेगको व्यवस्था गर्ने बताएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्; ‘यदि तपाईं बिनाअपराध पूर्वराजालाई नागार्जुनबाट निकाल्ने कुरा गर्नुहुन्छ भने हामी तपाईंलाई १७ हजार हाम्रा नेपाली दाजुभाईको हत्याको अभियोग लगाउँछौं, तर हाम्रो जनअदालतले तपाईंलाई सजाय दिनेछ । हेगको व्यवस्था हामी नेपालमै सिर्जना गर्नेछौं । त्यो बेला तपाईंको जवाफ के हुनेछ ?’

‘तपाईं नेपाली नागरिक हुनुहुन्छ, यसकारण कतिपय अपराध स्वतः माफी पाउनु हुन्छ । यदि तपाईं नेपाली जनताको हत्याको अभियोग स्वीकार नगरी यसैगरी बोल्दै जानुहुन्छ भने तपाईंलाई भगवान शिवले त माफ गर्नुहोला, तर शिवका सेना अर्थात हामी शिव सैनिकले माफ गर्न सक्ने छैनन् ।’,शिव सेनाका अध्यक्ष बस्नेतले विज्ञप्तिमा भनेका छन् ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले गत आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान व्यवस्था विरुद्ध बोलिरहेको भन्दै जनताले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुबाट समेत निकाल्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६१०:०८

पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला