काठमाडौं – भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ। ७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तराष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै कश्मीरीमाथि दमन भए चुप नलाग्ने चेतावनी दिएका छन्। उनले परमाणु हतियार सम्पन्न मुलुकले सकेसम्म खतरा निम्त्याउन नहुने भन्दै भारतीय पक्षबाट चालिने जुनसुकै कदमका लागि जवाफ दिन पाकिस्तान सक्षम रहेको बताएका छन्। ‘मलाई उनीहरु (भारतीय शासक) मा नश्लवादी सर्वश्रेष्ठताको घमण्ड भएको महसुस हुन्छ। उनीहरुमा भएको यही घमण्डका कारण उनीहरु केही गर्न सक्छन्। यस्तो भयो भने हामी जवाफ दिन्छौं।
यस्तो भइरह्यो भने यसले युद्ध निम्त्याउन सक्छ,’ खानको सम्बोलनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। खानले युद्ध भएमा जित्न पनि सकिने र हार्न पनि सकिने भन्दै युद्धको नतिजा जे पनि हुनसक्ने बताए। प्रधानमन्त्री खानले आफूहरुसँग दुई विकल्प रहेको बताए। उनले थपे, ‘बहादुर शाह जफर या टिपु सुल्तानमध्ये एकको बाटो हिँड्नुपर्छ। ’ उनले शरीरमा एक थोपा रगत रहुन्जेल लड्ने बताए। ‘मुसलमान अल्लाहबाहेक कसैसँग डराउँदैन, हामीले मानवता देखाएका छौं, हामीलाई दुनियाँको चिन्ता छ तर हामी एक थोपा रगत रहुन्जेल लड्यौं भने त्यो युद्धमा कसैले जित्नेछैन, सबैले हार्नेछन्। ’
विश्व कश्मीरीमाथि भइरहेको अपराधमाथि मौन रहँदा भारतको हौसला बढ्दै गएको भन्दै उनले अहिले कारबाहीका लागि उपयुक्त समय भएको बताए। भारतीय जनता पार्टी जर्मनीको नाजी पार्टीको पथमा अघि बढेको भन्दै उनले महात्मा गान्धी र जवाहरलाल नेहरुको सिद्धान्तलाई भारतले तिलाञ्जली दिएको बताए।
खानले कश्मीरीमाथि भइरहेको अत्याचारमा विश्वजगत मौन रहेमा र विकसित मुलुकले आफैंले बनाएको कानुनलाई नमानेमा त्यसबाट निम्तने नतिजाप्रति पाकिस्तान जिम्मेवार नहुने बताए। उनले यो विषयलाई संयुक्त राष्ट्र महासभा, सुरक्षा परिषद्लगायत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने बताए।
कश्मीर विषयलाई लिएर मंगलबार बसेको पाकिस्तानी सेनाको बैठकले पनि कश्मीरी जनताप्रतिको दायित्व पूरा गर्न सेना जुनसुकै हदसम्म जान तयार रहेको निष्कर्ष निकालेको छ। पाकिस्तानको सैन्य नेतृत्वले कश्मीरमा भारतीय निर्णयबारे पाकिस्तानी सरकारको धारणाप्रति समर्थन गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न सेना तयार रहेको जनाएको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले मंगलबार बसेको सैन्य नेतृत्वको निर्णय सार्वजनिक गर्दै भने, ‘पाकिस्तानी सेना कश्मीरी जनताको संघर्षको अन्त्यसम्म पनि साथमा हुनेछ, हामी जुनसुकै परिस्थितिका लागि तयार छौं। ’
कश्मीर विवादलाई लिएर दुई परमाणु शक्ति सम्पन्न मुलुक आम्नेसाम्ने हुने अवस्थाले यो क्षेत्रमा अस्थिरताको संकेत गरिरहेको कूटनीतिक मामिलाका जानकार बताउँछन्।