सन्दीपको टोरन्टो प्लेअफमा !

एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टि-२० को प्लेअफमा प्रवेश गरेको छ । बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा टोरन्टोले मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गरेपछि प्लेअफमा स्थान बनाएको हो ।

लिग चरणको अन्तिम खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको थियो । सम्बन्धित टोलीले अन्तिम खेलसम्म पनि पूरा पैसा नदिएको कारण दुवै टोलीले खेलका लागि मैदान आउन मानेका थिएनन् । आयोजक, टोली व्यवस्थापन र खेलाडीबीच वार्ता भएपछि निर्धारित समयभन्दा २ घण्टा ढिलो खेल सुरु भएको थियो । लिगको अन्तिम खेलमा टोरन्टोका कप्तान युवराज सिंह चोटका कारण बाहिर रहँदै मोइजेस हेनिरिकेसले टोलीको कप्तानी गरेका थिए ।

पहिलो ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो । टोरन्टोका लागि ओपनर रोड्रीगो थोमसले ५६ बलमा समान ५-५ चौका र छक्कासहित ७० रन जोडे । अर्का ओपनर चिराग सुरीले १६ तथा हेनारिकेसले १४ रनको योगदान दिए ।

यस्तै म्यान अफ द म्याच हेनरिक क्लासेनले ३४ बलमा नटआउट ६४ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे । मनाप्रित गोनीले ६ बलमा १ चौका र २ छक्कासहित १७ रनको आक्रमण इनिङ खेले । मोन्टरियलका थिसारा पारेराले २ तथा निखिल दत्त, फवाद अहमद र डिलन हेलिगरले १-१ विकेट हात पारे ।

जवाफमा मोन्टरियलले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय ५४ रनमात्र जोड्न सक्यो । शीर्षक्रममा म्याथ्यु क्रसले ३९ तथा दिनेश चन्दिमलले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । टोरन्टोका लागि सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । उनले छैटौं विकेटका रुपमा स्कट कुग्गेलेजिनलाई पोइन्टमा क्याच गराएका थिए । क्रिस ग्रीन र मिचेल मक्क्लिनघनले ३-३ तथा जेरेमी गोर्डनले २ विकेट हात पारे ।

यस नतिजासँगै सन्दीपको टोली अंक तालिकाको तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ । टोरन्टोको ६ खेलमा ३ जितका साथ ६ अंक छ । विनिपेग हक्सले समान ५ अंक रहेपनि मोन्टरियललाई पछाडी पार्दै चौथो स्थान कब्जा गर्यो । अब एलिमिनेटरमा सन्दीपको टोरन्टो र सोमपालको विनिपेगले खेल्नेछन् । क्वालिफायरमा ब्राम्पटन वल्भ्स र भ्यानकुभर नाइट्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०३:२७

उत्कृष्ट प्रदर्शनका बाबजुद सन्दिपको ग्लोबल टि-२० यात्रा टुंगियो !