काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले पार्टी अचम्भित र दुःखीत भएको जनाएको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गा भोगचलन प्रति नेकपाले गम्भीरता देखाउदै आफ्नो गल्तीको क्षमायाचना गरि तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्णपाठ :
आदरणीय पत्रकार साथीहरु !
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
केन्द्रीय कार्यसमितिको जारी बैठकले पार्टीको घरेलु जिवनका सम्बन्धमा र राष्ट्रिय राजनीतिका ज्वलन्त मुद्दाहरु बारे आवश्यक महत्वपूर्ण निर्णयहरु गर्न लाग्दैछ । यसबारे हामी यथा समयमा विवरण सार्वजनिक गर्नेनै छौं । आजको पत्रकार सम्मेलन तत्कालका केही विषयवस्तु माथि केन्द्रीत रहेको छ ।
१. ट्रेड यूनियन अधिकार सम्बन्धमा
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समुहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरित छ ।
ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ तर तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न । नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहनेछ ।
२. तथ्यको जगमा सत्यको खोजी गरी कार्वाही गर्न माग
गोंगवु बसपार्कको प्रकरणप्रति हाम्रो ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो । अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ । जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ । नेपाली कांग्रेस यस सम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कार्वाही प्रकृया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ ।
३. कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिदोष बारे
नेपाली कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरण बारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने नै छ । अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।
नेपाली कांग्रेसले स्थापनाकाल देखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको छ । बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डो¥याउने प्रयत्न गरी आएको छ । यो मान्यताले प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ । हामी विश्वस्त छौँ यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ ।
४. नैतिकतालाई थप लज्जित नबनाइयोस्
सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको छ । सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
श्रावण २३, २०७६ प्रवक्ता