काठमाडौँ – सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुलाई बेवास्ता गरिए निजामती कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन्।
आफूहरुले दिएको सल्लाह र सुझावलाई बेवास्ता गर्दै सरकारले संघीय निजामती सेवा ऐन निर्माण गरे देशमा आन्दोलनको ज्वारभाटा सुरु गर्ने निजामती कर्मचारीहरुले चेतावनी दिएका हुन्।
राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्ने क्रममा कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले आफूहरुले सुझाव दिसकेको र त्यसलाई आत्मसात नगरे आन्दोलन गर्ने चेतवानी दिए।
“हामीले हाम्रो तर्फबाट सल्लाह र सुझावहरु दिएका छौं । सरकारले हाम्रा सुझावहरुलाई कार्यान्वयन गर्छ भन्नेमा आशावादी छौं । यदि हाम्रा सुझाव बेवास्ता गरियो भने फेरि मुलुकमा आन्दोलनको ज्वारभाटा सुरु हुन्छ । त्यसपछि के–के हुन्छ ? भन्ने कुरा थाहा छैन् । अहिले नै सबैको ध्यान पुगोस्।”,उनले भने।
सरकारले ऐन बनाउँदा सरोकारवाला पक्षसँग गहन र गम्भिर छलफल गर्नुपर्ने भएता पनि सरकारले आफूहरुसँग सरसल्लाह नगरेको प्रति ढकालले असन्तुष्टि समेत पोखे।
निजामती प्रशासनलाई सधैं दपेट्ने काम भएको भन्दै उनले सामूहिक राजीनामाको विषयले स्थिति थप उत्तेजित र आतंकित बनाएको बताए।
यस्तै उनले निजामती कर्मचारीलाई मौरीको संज्ञा समेत दिएका छन्। “निजामती प्रशासनलाई सधैं दपेट्ने काम भएको छ। निजामती कर्मचारी भनेको मौरी हो । सकारात्मक ढंगले लिईयो भने राम्रो मह दिन्छ । होईन भने मौरीको खिल हेरौं ।”,चेतावनी दिँदै उनले भने।

