काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका सांसद हरीराज अधिकारीले देशमा अब राजतन्त्र कुनै पनि अवस्थामा नफर्कने दावी गरेका छन्।
गोरखामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देशमा अब राजतन्त्र कुनै पनि अवस्थामा फर्कन नसक्ने दावी गरेका हुन्। उनका अनुसार स्वर्गका देवता आएपनि राजतन्त्र फर्कन सक्ने अवस्था छैन।
ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धी कसैले चाहँदैमा भंग नहुने र पूरानै व्यवस्था नफर्किने तर्क गरे। हालको व्यवस्थाले सिंहदरबारको अधिकार गाउँघरमा ल्याएको अधिकारीले बताए।
स्थानीय जनप्रतिनिधिहरुलाई राजा भन्दै विरोध गर्नेहरु संविधान र संघीयता विरोधीहरु रहेको पनि उनले आरोप लगाएका छन्। संविधान र संघीयता चित्त नबुझेकाहरुले स्थानीय जनप्रतिनिधिहरुलाई राजा भन्दै विरोध गरेर भ्रम फैलिरहेको आरोप लगाए।