३ खान फ्लप हुँदा तहल्का मचाउने शाहिदको ह्वातै भाउ बढ्यो, हजार प्रतिशत बढाए पारिश्रमिक ! कति ?

एजेन्सी – ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का मच्चाएपछि अहिले बलिउड नायक शाहिद कपूर सर्वत्र चर्चामा छन्।

वर्षकै सबै भन्दा सफल बलिउड चलचित्रको रुपमा उभिन तयार रहेको ‘कबिर सिंह’ शाहिदको करियरकै सबै भन्दा सफल चलचित्र भएको छ।

विवादका बीच पनि ‘कबिर सिंह’ सफल भएपछि शाहिदको नयाँ चर्चित्र बारे सबैले चासो व्यक्त गर्न थालेका छन्। फरक-फरक भूमिकामा देखिँदै आएका शाहिदलाई अब कुन भूमिकामा देख्न पाइन्छ भन्ने चासो हुनु स्वाभाविक पनि हो।

यता शाहिद भने अहिले बेरोजगार जस्तै छन्। उनले अहिले कुनै पनि चलचित्र “साइन” गरेका छैनन्। उनलाई धेरै चलचित्रहरु “अफर” गरिएता पनि उनले कुनै पनि चलचित्र फाइनल भने नगरेको भारतीय मिडियाहरु बयाउँछन्।

‘कबिर सिंह’को सफलता पछि शाहिदले आफ्नो पारिश्रमिक बढाएको बारे पनि समाचारहरु आउन थालेका छन्। भारतीय संचार माध्यमहरुमा शाहिदले आफ्नो पारिश्रमिक ह्वातै बढाएको बारे चर्चा नै चलेको छ।

श्रोतका अनुसार शाहिदले ‘कबिर सिंह’को लागि ३ करोड लिएका थिए। तर अब भने उनले आफ्नो पारिश्रमिक बढाएर ३० करोड पुर्याएका छन्। यस हिसाबमा उनले आफ्नो पारिश्रमिक १ हजार प्रतिशतले बढाएका छन्।

शाहिदले आफ्नो पारिश्रमिक बढाउनुलाई स्वाभाविक रुपमा सकारात्मक पनि भनिएको छ। तीन खान समेत फ्लप भएको वर्षमा शाहिदको चलचित्र सर्वाधिक रुचाइनु र उनले आफ्नो पारिश्रमिक बढाउनु स्वाभाविक हुन जाने धेरैको तर्क छ। अहिले सम्म कुनै चलचित्र फाइनल नगरेता पनि उचित पारिश्रमिक पाएको खण्डमा शाहिद तयार हुने अवस्थामा छन्।

यता विज्ञापनहरुमा पनि शाहिदको माग ह्वातै बढेर गएको छ। विभिन्न ठूला ब्राण्डहरु पनि शाहिदसँग जोडिन चाहेको विवरणहरु बाहिरिएका छन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:२०

जेठी श्रीमतीलाई फकाएर होस् अथवा धम्काएर यी बलिउड स्टारले भित्र्याएका थिए दोस्री श्रीमती !