विभागको नेतृत्वलाई लिएर ओली–नेपालबीच “लफडा”

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभागमा कसलाई नेतृत्व गर्न दिने विषयमा थप विवाद चर्किंदै गएको छ । स्कुल संगठनको विवाद सतहमा आइरहेका वेला युवा लगायतका विभागको नेतृत्वका विषयमा विवाद चर्किएको छ । जसका कारण बुधबारका लागि बोलाइएको सचिवालय बैठक समेत सारिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पार्टी एकतालाई पूर्णता दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार गरेको परामर्श र गृहकार्य निष्कर्षमा पुग्न नसकेपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबारका लागि बोलाइएको बैठक बुधबारका लागि सारिएको थियो तर, सो बैठकमा पनि सहमति नजुट्ने देखिएपछि पुन सारिएको हो । बैठक स्थगित गर्नुअघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भने भएको छ । ‘दुवै अध्यक्षले तयारी नपुगेको बताए । बैठकमा छलफल गरेर निष्कर्ष आउनेभन्दा दुई अध्यक्षले सचिवालयका सदस्यहरूसँग परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउन बैठक स्थगित भएको हो, उहाँहरू गृहकार्यमै हुनुहुन्छ,’ सचिवालयका एक सदस्यले भने ।

दुवै अध्यक्षलाई महासचिव बिष्णु पौडेलले गत सचिवालय बैठकको निर्णयअनुसार नेताहरूको रुचि बुझेर आफ्नो प्रतिवेदन दिइसकेका छन् । अध्यक्ष ओली र प्रचण्डले सोही रुचिअनुसारको प्रतिवेदनमा आधारित भएर सचिवालयमा निर्णायक प्रस्ताव लैजाने अन्तिम तयारी अघि गरिरहेका छन् । ‘एकतालाई पूर्णता दिने निर्णायक प्रस्ताव निर्माणमा दुवै अध्यक्ष लाग्नुभएको छ, त्यसैका लागि दुवै अध्यक्षले पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताहरूसँग समेत छट्टुाछुट्टै परामर्श गर्नुभएको छ,’ सचिवालयका नेताले भने । अन्तिम प्रस्ताव तयारीको क्रममा रहेकै कारण बुधबारको बैठक पनि स्थगित गरिएको हो ।

स्कुल विभागको विवाद कायमै रहेको वेला पूर्वएमालेमा भने विभागका नेतृत्वको विषयलाई लिएर पूर्वएमाले समूहमा विवाद बढ्दै गएको छ । स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले मुख्यरूपमा दाबी गर्दै आएका छन् । अन्य विभागमा विवाद कायमै रहे पनि पूर्वएमालेका भागमा परेका मजदुर, युवा र महिला विभागमा समेत तीव्र विवाद देखिन्छ । प्रधानमन्त्रीले मुख्य तीनवटै विभागमा आफूपक्षीय नेताका नाम अगाडि सारेको स्रोतको दाबी छ । मजदूरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिलामा गोमा देवकोटाको नाम अगाडि सारेको एक नेताले बताए । त्यसमा माधव नेपाल पक्षधरले असहमति राखेको बताइन्छ ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०२:५८

तीन सय जनाको हुलले मन्दिरमा एक्कासी आक्रमण गर्दा भागाभाग, दर्शनार्थी घाइते !