रियल र बार्सिलोनाको प्रस्ताव पीएसजीद्वारा अस्विकार, नेयमारको भविष्य अन्योलमा !

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड र बार्सिलोनाले ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्नका लागि राखेको प्रस्ताव फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अस्विकार गरेको छ ।

बार्सिलोनाले नेयमारका लागि पीएसजीसामु फिलिपे कोउटिन्हो र १ सय मिलियन युरोको प्रस्ताव राखेको थियो । मिडफिल्डर इभान राकीटिच पनि प्रस्तावमा संलग्न हुने चर्चा चलेपनि बार्सिलोनाले पहिलो प्रस्तावमा उनलाई सामेल गरेन । पीएसजीले उक्त प्रस्तावलाई अस्विकार गरेको छ ।

यता रियल म्याड्रिडले विंगर ग्यारेथ बेल र कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेज सहित केहि रकम थपेर गरेको प्रस्तावलाई पनि पीएसजीले अस्विकार गर्यो । पीएसजीले नेयमारका लागि प्रस्ताव राख्ने भए रियलबाट भिनिसियस जुनियरको माग राखेको छ । पीएसजीले रियल र बार्सिलोनामध्य म्याड्रिड क्लबलाई नै प्राथमिकतामा राखेको छ ।

सन् २०१७ मा बार्सिलोना छाडेर विश्व कीर्तिमानी रकममा पीएसजी पुगेका नेयमारले क्लब छाड्ने लगभग पक्का छ । उनले पछिल्लो दुई सिजनमा चोटका कारण निकै समस्या भोगेका छन् । मैदानबाहिर पनि उनको व्यवहारलाई लिएर निकै आलोचना हुँदै आएको छ । नेयमारलाई पीएसजीकै समर्थकले पनि क्लब छाड्न भन्दै नाराबाजी गरेका छन् ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०४:१८

एसीसी क्यालेन्डर सार्वजनिक : नेपाललाई छनोटमा मौकै-मौका ! [क्यालेन्डर सहित]