पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान भएको छ भने तीन जना घाइते भएका छन् ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा २१ प २८३० नंको कार व्यास नगरपालिका–१२ कमलाबारीमा ठक्कर खाँदा मोटरसाइकलमा सवार आँबुखैरेनी गाउँपालिका–६ का ४८ वर्षीय थोमश बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । घाइते बस्नेतको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–१२ मूलपानी बस्ने २२ वर्षीय उमेश खड्का घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार र चालक प्रहरी नियन्त्रणमा छन् । यसैगरी दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार छ वर्षीय सुनिल मगरको ज्यान गएको छ । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका बस्ने ३० वर्षीय मीनप्रसाद मगर र २७ वर्षीया सुष्मा मगर घाइते भएका छन् । उनीहरु श्रीमान्-श्रीमती हुन् भने बालक छोरा हुन् ।