निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो । उक्त निर्णय आज अर्थात् असोज १ गतेदेखि नै लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरुप निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको जनाएको छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउनेछन् । ज्येष्ठ नागरिक ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित : बुधबार, असोज ०१, २०७६१५:१६

सहाना अगुवा नेता : अध्यक्ष दाहाल