“अर्को आन्दोलनको लागि सम्पूर्ण ताकत लगाउने फौज चाहियो” – प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्क्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को आन्दोलनको आवश्यकता रहेको बताएका छन्।

सोमबार सहाना प्रधानको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले अर्को आन्दोलन, अभियान र मिसन आवश्यक रहेको बताए।

सहाना प्रधान प्रतिष्ठानद्वारा सोमबार नेकपाको कार्यालय धुम्बाराहीमा आयोजित सहाना प्रधानको पाँचौ स्मृतिसभामा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु मौनधारणा गर्दै ।

नयाँ आन्दोलन र अभियान शुरु नभए नेपाल कम्युनिष्ट पार्टीको हालत युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन सक्ने उनको बुझाइ छ। “हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो। हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।”

सहाना प्रधान प्रतिष्ठानद्वारा सोमबार नेकपाको कार्यालय धुम्बाराहीमा आयोजित सहाना प्रधानको पाँचौ स्मृतिसभा मन्तव्य राख्दै नेकपा नेता झलनाथ खनाल ।

यस्तै प्रचण्डले कम्युनिस्टको व्यवहार र आचरण फेरिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। प्रचण्डले नेकपाका नेता तथा कार्यकर्ताहरु पद र प्रतिष्ठाको निम्ति, त्यसलाई बचाउनको निम्ति जे पनि गर्ने कांग्रेस र हिजोका निरंकुशतावादीजस्तै बन्दै गएको बताए।

प्रचण्डले भने,”भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौं। तर त्यसका निम्ति एउटा योद्धा जस्तै छौं त हामी ? या, हामी बिस्तारै बिस्तारै कांग्रेस जस्ता या हिजोका निरंकुशतावादीहरुको जस्तैजस्तै भयौ।”

लामो समयदेखि गरिब, उत्पीडित, न्याय, समानता, स्वतन्त्रता र आत्मसम्मानको निम्ति लडेको भन्दै जनताले कम्युनिष्टलाई विश्वास गरेको भएता पनि अहिले व्यवहार र आचरणले त्यस्तो नदेखिएको भन्दै चिन्ता व्यक्त गरे।

सहाना प्रधान प्रतिष्ठानद्वारा सोमबार नेकपाको कार्यालय धुम्बाराहीमा आयोजित सहाना प्रधानको पाँचौ स्मृतिसभामा स्व. सहाना प्रधानको तस्वीरमा माल्यार्पण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

प्रचण्डले मिठामिठा कुरा गर्न सजिलो भएता पनि ठोस काम गर्न गार्हो भएको तर्फ पनि संकेत गरे। “भन्न त मिठामिठा कुरा भन्न सकिने रहेछ। किनकि हामीले देख्यौं, हिजोका तानाशाहहरुले पनि विकासको मूल फुटाउने कुरा गरेकै हुन्। हिजोका राजा महाराजाहरुले पनि विकासको मूल फुटाउने भनेका हुन् तर अर्थोकै फुट्यो।”,प्रचण्डले भने।

प्रकाशित : सोमबार, असोज ०६, २०७६०९:२२

काम नगर्ने ठेकेदारलाई ‘कालो सूची’मा नभई ‘अँध्यारो सूची’मा राख्न ओलीको उर्दी !